साउदीका नेपाली सारथी

Read Time:10 Minute, 54 Second

हुम सुनारी

(अन्य तस्वीर उनले गरेका उद्दार कर्म )

 विदेश जानु रहर होइन धेरै नेपालीको बाध्यता भइसकेको छ । धन कमाउने सुन्दर सपना देखेर प्रदेशी भूमिमा पुगेपछि अलपत्र परेका खबरहरु बारम्बार आइरहन्छन् । तर, ती प्रदेशमा अलपत्र परेकालाई उद्धार गरिएका खबर निकै कम आएका छन् ।
काम गर्न गएका नेपालीलाई उद्धार गर्ने मानिस नहुँदा यस्ता खबर नआएका हुन् । विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न पनि निकै मुस्किल छ ।
आफ्नो रोजीरोटिका लागि विदेश गएका कति नेपालीले उद्धार गर्ने चहाना भए पनि गर्न सक्दैनन् । कतिले अलपत्र परेका नेपालीको वास्तै गर्दैनन् ।
 तर, त्यस्ता केही व्यक्ति छन् जसले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न रातदिन खट्ने गरेका छन् । ती थोरै व्यक्तिमध्ये एक हुन् फोक्सिङकोट –१ पाल्पाका हुम सुनारीमगर । उनी साउदी अरबमा अलपत्र परेका थुप्रै नेपालीका लागि असल सारथी बनेका छन् ।
रोजगारीका लागि २०५६ साल पुष ३० मा साउदी अरब पुगेका हुमले अहिलेसम्म थुप्रै नेपालीको उद्धार गरिसकेका छन् । उनले केही दिन अघि मात्रै रामपुरटोक्ने–५, बाराका लोलेन्द्र कुमार शाह, गद्धबेरिया–७, महोत्तरीका उपेन्द्र पासवान लगायत अन्य ७ जना नेपाली कामदारहरुको उद्धार गरिदिए ।
चार बर्ष अघि युएइको Abdul Aziz Al–Zaid Est कम्पनीमा आएका उनीहरुलाइ दुई  बर्ष काम गरेपछि सोही कम्पनीले साउदी अरेबियाको शाखामा सरुवा गरेको थियो । उक्त कम्पनीमा चार बर्ष काम गरेर घर जान निबेदन दिँदा साउदी रियाल २५ हजार (नेपाली पाँच लाख पचहत्तर हजार) रकम मागेपछि उनीहरु घर आउन नपाएर अलपत्र परेका थिए ।
 

अलपत्र परेका युवाले सुनारीलाई सहयोग गरिदन अनुरोध गरेपछि साउदी अरब नेपाली दूताबासका श्रम सहचरी चन्द्रेश्वर आचार्यसँग मिलेर ती युवालाई हुमले नेपाल फर्काएका थिए । ती पीडित कामदारहरुलाई काठमाडौंको रोल्याक्स म्यानपावरले पठाएकोथियो ।
‘साउदी बसेको लामो समय भयो, यहाँ मलाई धेरैले चिन्छन् । अप्ठ्यारोमा परेको मान्छेलाई सहयोग गर्ने मान्छे हुम सुनारी मगर हो भनेर प्रचार गरेका छन्’ साउदी अरबबाट स्काइपीमा कुरा गर्दै हुमले भने‘त्यसपछि अप्ठ्यारोमा परेकाले फोन गरेर सहयोग गरिदिन बिलौना गर्छन्, मेरो मन पनि कोमल छ, उद्धार गरिदिन्छु, यो मानविय धर्म पनि हो ।’

 

उनले साउदी र दुवैको सिमाना हाफर अल बाटेनमा काम गर्दै गरेकी नेपाली जुनु गुरुङको पनि दुइ महिना अघि उद्धार गरे । प्राविधिक बाहेकका नेपाली महिलालाई साउदी अरेबियामा काम गर्नका लागि जान नपाइने नेपालको कानुनी प्रावधान भए पनि नेपाली महिला दलालको फन्दामा परेर भारतको बाटो हुँदै त्यहां पुग्ने गरेका छन् ।
सुनारीले अहिलेसम्म कुवेत भनेर साउदी पठाइएकी धरानकी जुनु गुरुङ, पाल्पाकी लक्ष्मी न्यौपाने, सुर्खेतकी  पूर्णिमा गिरी, नयाँ गाउँ धुरकोट– ५ गुल्मीकी बसन्ती मल्ल, ककनी– ५ नुवाकोटकी छलिमाया तामाङ लगायत अलपत्र परेका ११ जना नेपाली महिलाको उद्धार गरेका छन् ।
अहिले लमजुङकी काली गुरुङले पनि उद्धारका लागि सहयोग मागेपछि हुमले नेपाल फर्काउने प्रक्रियामा छन् । ‘साउदीको कानुन निकै कडा छ, केटिलाई हेर्न पनि पाइदैन, उद्धार गर्नु त निकै ठूलो कुरा हो’ उनले भने‘मेरो श्रीमती साउदीमै भएकोले उनलाई गाडीमा राखेर अलपत्र परेका नेपालीको उद्धार गर्ने गरेको छु । श्रीमतीको आइडी देखाएपछि पुलिसले पनि केही गर्दैन ।’
 

उनले अहिलेसम्म करिब चार/पाँच सयभन्दा बढी पुरुषलाई उद्धार गरेर नेपाल पठाई सकेको सुनाए । तर, उनले आफूले गरेको काम कहिल्यै  प्रचार गरेनन् । उनी प्रचारमा आउन चहाँदैनन् पनि । ‘अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु मानविय धर्म हो, किन हल्ला गर्ने, काम पो गर्ने होे’ उनले भने‘तर यहाँ मिडियामा नाम आओस भनेर धेरैले हल्ला पनि गरेको थाहा पाएको छु । जबकि उनले  अहिलेसम्म १५/२० जनाका लागि त नेपालसम्म आउने टिकटको व्यवस्था समेत गरिदिएका छन् ।
त्यसो त साउदी अरबमा एनआरएन पनि छ । तर उनले एनआरएनका अध्यक्ष धरम के.सी.र महासचिव पुरुषोत्तम श्रेष्ठ लगायतलाई सहयोग मागे पनि उनीहरुले कुनै सहयोग नगरेको तितो अनुभव उनीसंग छ। उनीहरु त केवल विदेशमा पनि राजनीति गर्छन् ।
‘हुन त साउदीमा अरुले उद्धार गर्न पनि सक्दैन, मेरो परिवार भएकोले मात्रै सजिलै उद्धार गरेको हुँ’ उनले भने‘नत्र गाडिमा अरु केटी राखेको पुलिसले भेटाए पक्राउ गरिहाल्छ । मेरो परिवार भएको हुँदा उनलाइ गाडिमा राखेर उद्धार गर्न जान्छु ।’
 

कति नेपालीलाई हुमले आफ्नो कोठामा लगेर थुप्रै दिनसम्म पालेका छन् । खुवाएका छन् । उद्धार गरेका छन् । तर, ती उद्धार गरिएकाहरुले कहिल्यै सम्झिदैनन् । तर, पनि उनलाई कुनै गुनासो छैन । ‘मान्छेको जातै स्वार्थी हो, आआफ्नो स्थानबाट सक्दो सहयोग गर्ने हो’ उनले भने‘कसैले मलाई भोली सम्झियोस भनेर  मैले सहयोग गरेको पनि होइन ।’
सन् २००० को जनवरीमा आइटीमा मास्टर्स कोर्ष गर्न भनेर बम्बै गएका बेला उनको एक जना भारतीयसँगको भेटपछि उसकै सहयोगमा एक रुपैंया नतिरेर उनी अलओला बिजनेस  ग्रुप, रियाद साउँदी अरेबियामा प्रशासन सहायकमा काम गर्न पुगेका थिए । २८ वर्षको हुँदा साउदी छिरेका उनी अहिले त्यतै बस्छन् । उनी अहिले अललोला बिजनेस ग्रुपको वित्तिय प्रमुख छन्  । कम्पनीले निःशुल्क रुपमा घर उपलब्ध गराएको छ ।
समाज सेवामा सक्रिय हुम आदिवासी जनजाति महासंघ साउदि अरेयिबाको अध्यक्ष पनि हुन् । सन् २०१० देखी १२ सम्म एक कार्यकालका लागि अध्यक्ष भएका उनले राम्रो काम गरेपछि फेरी सन् २०१२– २०१४ को लागि पनि सर्वसम्मत अध्यक्ष भएका छन् । उनी एनआरएन साउदी अरब, मगर संघ साउदी अरबको सल्लाहकार पनि हुन् । हुम

 

कार्यलयले दिएको खाजा खाने समयमा पनि उनले सवाजसेवाका लागि सोच्छन् । ‘एकदेखी दुइ बजे ब्रेक टाइम हो । तर म त्यतिबेला खाजा नखाएर दुताबास जान्छु, के कस्तो छ बुझने गर्छु’ उनले भने‘पाँच बजे छुट्टी हुन्छ । त्यसपछि घर नगएर राती १२ देखी एक बजेसम्म कसैको उद्धार, कसैको टिकट बनाउने काममा व्यस्त भएका दिन धेरै छन् ।’
शुक्रबार भने बिदा हुन्छ । यो बिदा सबैभन्दा उपयोगी भएको छ उनका लागि । ‘कुनै पनि पिडित नेपाली मान्छे देखे र सुने भने यो मान्छेलाई जसरी पनि मैले सकेको मद्दत दिनुपर्छ भन्ने भावनाले काम गर्छु’ उनले भने‘साउदी अरबमा रहेको नेपाली दुताबासले पनि मलाई निकै सहयोग गरेको छ, मैले ल्याएका हरेक केशलाइ अहिलेसम्म राम्रो रेस्पोन्स गरेको छ ।
 उनको यो समाजसेवा र साउदी अरबमा अलपत्र परेका नेपालीलाई उद्धार गर्नमा सबैभन्दा बढी सहयोग गर्ने उनकी पत्नी कुमारी सुनारी मगर हुन् । ‘मेरो श्रीमतीले साथ नदिएको भए मैले कुनै पनि चेलिको उद्धार गर्न सक्थेन’ उनले खुसी व्यक्त गर्दै भने‘म उनको सहयोगले नै यहाँ आएको हुँ ।’
उनले उद्धार गरेका धेरै नेपालीलाई नेपाल पठाउनु पहिले साउदीमै ओरेन्टेशन कक्षा पनि दिने गरेका छन् । नेपालबाट साउदी अबरमा जाँदा सकेसम्म नेपालकै विमानस्थल प्रयोग गर्नुपर्ने, काम गर्ने कम्पनी, कस्तो काम हो सबै कुरा बुझेर आउनुपर्ने लगायतका सुझाव दिने गरेका छन् ।
‘हामीले उद्धार गरेका नेपालीलाई तपाइले नेपाल गएपछि भेटे जतिलाई आफ्नो सम्पर्कमा रहेका साथी, नेपाल सरकारको स्विकृतिबिना साउँदी नजानुस भनेर सल्लाह दिनुस भन्छौ’ सुनारीले उद्धार गरिएकालाई दिने गरेको सुझाव सम्झिदै भने‘जानै परे नेपाल सरकारको स्विकृति लिएर मात्रै आउनुस् । नेपाली महिलालाई साउदी अरबमा काम गर्न पाइदैन । कसैले साउदी पठाउछु भनेमा त्यसको पछि नलाग्नुस् भन्ने सन्देश दिनुहोला भन्छौ ।’
 

 
प्रस्तुति : मनोज घर्ती मगर,पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %