
पहिचान सहितको संघीयता र पुर्ण समावेशी सञ्चार मुख्य मुद्धा
हुम तमु, पोखरा, २४ जेठ
नेपालका आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजको यही जेठ २६ र २७ गते पोखरामा हुने पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ ।
काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक पोखरामा हुन लागेको महाधिवेशनको तयारीका बारेमा जानाकारी दिन अनिजले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय महाधिवेशनका संयोजक मोहनसिंह लामा, महासचिव डण्ड गुरुङ र अनिज कास्कीका अध्यक्ष तथा स्थानिय व्यवस्थापन संयोजक हुमबहादुर गुरुङले उक्त जानकारी दिनुभएको हो ।
देशका ४४ जिल्लामा गठित जिल्ला शाखाहरु, आठ जातिय पत्रकार संघहरु र दुई विदेश शाखा सहितबाट तीन सय प्रतिनिधीको सहभागिता रहने महाधिवेशन पोखरा १७ ड्यामसाइडस्थित गोर्खा फिटनेश सेन्टर तथा गल्फ स्कुलमा हुने बताइएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि करिब आठ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
महाधिवेशनको राजनैतिक दलका आदिवासी जनजाति नेताहरुले उद्घाटन गरिने र महाधिवेशन पुर्व जेठ २६ गते विहान ८ बजे शहिदचोकबाट मौलिक भेषभुषामा आदिवासी जनजाति पत्रकारहरु र आदिवासी जनजातिका संघ संस्थाका प्रतिनीधिहरु सम्मिलित प्रभातफेरी गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
जातीय पहिचानसहितको संघीयताका लागि पूर्ण समावेशी सञ्चार नाराका साथ हुने महाधिवेशनमा पहिचान सहितको संघीयताको पक्ष, पुर्ण समावेशी सञ्चार निर्माणको अभियान सञ्चालन र श्रमजिवी पत्रकार ऐन लागु गराउने पक्षमा विशेष छलफल गरिने जानकारी दिइएको थियो । महाधिवेशनले आदिवासी जनजाति पत्रकार संघलाई महासंघमा परिणत गर्ने प्रस्ताव, २१ सदस्यीय केन्द्रीय समितिलार्य २७ सदस्यीय, पाँच केन्द्रीय उपाध्यक्षहरु परिवर्तन गरी एक उपाध्यक्ष, पाँच क्षेत्रीय संयोजकको व्यवस्था र अनिजलाई संघीयताको ढाँचामा रुपान्तरण गरिने लामाले बताउनुभयो ।
यसैगरी केन्द्रीय सल्लाहकार सञ्जय सन्तोषी राईले पोखरामा हुने पाँचौ राष्ट्रिय महाधिवेशन समावेशी सञ्चार निर्माणका लागि पत्रकार महासंघ कै विरुद्धमा शसक्त दवाव सिर्जना र मुलुकलाई वर्बाद बनाउने चार दलिय छोटे राजाको विरुद्धमा प्रस्तुत गर्ने बताउनुभयो ।
अनिजका केन्द्रीय महासचिव डण्ड गुरुङले महाधिवेशनको तयारीको वारेमा जानकारी दिनुहुदै मुलुकको संक्रमण अन्त्यका लागि जातिय पहिचान सहितको संघीयता र सञ्चार क्षेत्रभित्र रहेका विभेदको अन्त्य गर्दै पुर्ण समावेशी सञ्चार माध्यम निर्माणमा अनिज अभियानका साथ जुट्ने बताउनुभयो ।
अनिज कास्कीका अध्यक्ष तथा स्थानिय व्यवस्थापन संयोजक हुमबहादुर गुरुङले काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक पोखरामा हुन गइरहेको महाधिवेशनलाई आम कस्केली, पोखरेलीको साथ रहेको र महाधिवेशन भव्य र सभ्य हुने दावी गर्नुभयो ।
अनिजका केन्द्रीय अध्यक्ष मोहनसिंह लामाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पश्चिमाञ्चल उपाध्यक्ष उपाध्यक्ष तिलकप्रसाद पुन पुर्जाले धन्यवाद व्यक्त गर्नुभएको थियो भने अनिज कास्कीका उपाध्यक्ष रुद्र श्रीसमगरले सञ्चालन गर्नुभएको थियो ।
