ताप्लेजुङ १७ जेठ
ताप्लेजुङ जिल्लामा केही समय अघिदेखि अलैंचीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । पछिल्लो तीन दिनयता मूल्य वृद्धि भई प्रतिमन (४० केजी) को ५८ हजार रुपियाँ पुगेको छ । जिल्लाको मूख्य नगदेबालीको रुपमा रहेको अलैंचीको मूल्य गत चैतको अन्तिमबाट क्रमिक रुपमा मूल्य वृद्धिहुँदै आएको हो । उक्त मूल्य वृद्धिसँगै केही दिनयता मनको १८ हजार रुपियाँले वृद्धि भई अहिले प्रतिमन ५८ हजार रुपियाँमा किनबेच भइरहेको छ ।
अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष खड्गबहादुर मोक्तानले बिहीबार (आज) सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन (४० केजी) को ५८ हजार रुपियाँ सम्ममा कारोबार भइरहेको जानकारी दिनुभयो । अध्यक्ष मोक्तानका अनुसार गत फागुन तथा चैतको दोस्रो सातासम्म प्रतिमन ३८ देखि ४२ हजार रुपियाँसम्ममा अलैंचीको कारोबार भएको थियो । अहिले बाह्य मुलुकबाट माग बढि भएकाले अलैंचीको मूल्य बढ्ने क्रममा रहेको उहाँको भनाइ छ ।
उता अलैंचीको मुख्य कारोबार हुने व्यापारिक केन्द्र झापाको विर्तामोडमा हाल प्रतिमन ५९ देखि ६० हजार रुपियाँसम्ममा कारोबार हुँदै आएको बताइएको छ । यता अलैंची निर्यात हुने मुलुकबाट माग भए नेपाली बजारमा मूल्य बढ्ने र माग नभए मूल्य घट्ने गरेको व्यवसायीहरु बताउँछन् ।
