काठमाडौं १७ जेठ
कमलरी राख्ने, बेपत्ता पार्ने र यौन शोषण गर्ने लगायतका घटनामा थारु चेलीहरुले पिडित हुनु परेको भन्दै यस विषयमा सरकारसंग छानविन र कार्बाहिको माग गर्दै कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समिति अनिश्चितकालिन आन्दोलनमा उत्रिएको छ ।
दाङ जिल्लाकी १२ वर्षिय सृजना चौधरीको ललितपुर स्थित मालिकको घरमा मट्टीतेल छर्केर आगोमा जलेर मुत्यु भएको लगायत धनगढीकी १५ वर्षिय उर्मिला नाराथारु, दाङ रामपुरकी १३ वर्षिय सिमा होजामगरको मृत्यु हुनुमा मालिक दोषी भएको र कमलरीहरुको शोषण, बलात्कार र त्यसपछि हत्या भएको भन्दै दोषीमाथी कडा कार्बाहीको माग गर्दै संघर्ष समिति आन्दोलना उत्रिएको संघर्ष समितिका संयोजक फकला थारुले बताउनुभयो । कमलरीमाथी शोषण, दमन र हत्या गर्ने दोषीमाथी निष्पक्ष छानविन र कडा कार्बाहिको माग गर्दै सूदुर पश्चिममा आन्दोलन गर्दै आएपनि आफ्ना मागको सुनुवाई नभएपछि आन्दोलन गर्न राजधानी नै आउनुपरेको कंचनपुरकी राजकुमारी चौधरीले बताईन् । ‘हामीले सुदुर पश्चिममा आन्दोलन गर्यौं तर सुनुवाई नभएपछि राजधानी आएका हौं । ’ उनले भनिन् ।
काठमाडौं स्थित सिंहदरबार पूर्वी गेट नजिकै हनुमानथानमा भेला भएका पूर्व सभासद् शान्ता चौधरी र सुकदैया चौधरी तथा कमलरीहरुले थारु महिलाहरुले भोग्नु परेको पिडा, हत्या र शोषणका दोषीको छानविन गरी दोषीउपर सरकारले तत्काल कार्बाहि गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
दिनप्रतिदिन थारु चेलीहरुको हत्या बढिरहेको र थारु चेलीहरु असुरक्षित र बढि पिडित भईरहेको अबस्थामा पनि सरकारले यस विषयमा वेवास्ता गरेको भन्दै अनिश्चितकालिन आन्दोलनमा उत्रिनुपरेको आन्दोलनका संयोजक फकला थारुले बताउनुभयो । ‘हाम्रो मागको सुनुवाई नभएसम्म आन्दोलन गर्नेछौं ।’ संयोजक थारुले भन्नुभयो ।
उर्मिला चौधरीले नेतृत्व गर्नुभएको आन्दोलनमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष सूर्य भुजेल, महिला महासंघकी महासचिव शोनी लामा, महासंघका निर्वतमान अध्यक्ष राजकुमार लेखी लगायतको सहभागिता रहेको थियो । संघर्ष समितिले धर्ना कार्यक्रम भने काठमाडौं स्थित शान्तिवाटिकामा गरिरहेको जनाएको छ ।
