गोविन्द घर्ति रुपन्देही १० जेष्ठ, संविधानमा आदिवासी जनजातिका अधिकार सुनिश्चत गर्नका लागि सशक्त आन्दोलन गर्नुको विकल्प नभएको करहियामा आयोजित एक कार्यक्रममा बोल्ने जनजाति अगुवाहरुले जोड दिएका छन् । उनीहरुले आदिवासी जनजातिको एकतालाई कमजोर नठान्न सक्ताधारीलाई चेतावनी पनि दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघ गाउं समन्वय परिषद्,करहिया,रुपन्देहीले आज केउलानीमा आयोजना गरेको बृहद जनजाति भेलामा बोल्ने आदिवासी जनजाति अगुवाहरुले उक्त कुरामा जोड दिएका हुंन् । कार्यक्रममा आदिवासी जनजाति महासंघ, रुपन्देहीका अध्यक्ष शन्तराम चौधरीले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्नका लागि जस्तो सुकैं आन्दोलन गर्न पनि पछि नपर्ने बताउंनु भयो । आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीका उपाध्यक्ष धनबहादुर गुरुङले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको लागि आदिवासी जनजातिहरु एकजुट भएर लाग्नु पर्ने बताउंनु भयो । नेपाल मगर संघ जिल्ला समिति, रुपन्देहीका अध्यक्ष दलबहादुर बिरकट्टाले आदिवासी जनजातिको अधिकार सुश्चित गर्नका लागि महासंघले थाल्ने हरेक प्रकारको आन्दोलनमा मगर संघको सहयोग रहने बताउंनु भयो । जनजाति महासंघ करहियाका अध्यक्ष शेरबादुर गुरुङको अध्यक्षता तथा सचिव यमबहादुर थापाको संचालनमा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी, रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङ, नेपाल छन्त्याल संघका केन्द्रीय सदस्य लक्ष्मी छन्त्याल लगायतले बोल्नु भएको थियो
