देब पचभैया
पाल्पा १४ बैशाख नव जागृत प्राथमिक विद्यालय चिदिपानी १ धैरेनी, पाल्पाले मातृभाषामा कक्षा सञ्चालन गरि देशमै नमुना विद्यालयको रुपमा अगाडी बढेको हुनाले विद्यालयलाई थप सहयोग गर्ने उद्धेश्यले नेपाल मगर संघ टोक्यो, जापानले एक लाख रुपैया सहयोग गरेको छ ।
सहयोग वितरण कार्यक्रमका प्रमुख अतिथी टोप अस्लामीले नव जागृत विद्यालयले मातृभाषामा शिक्षा दिएर खस भाषामा समस्या पर्ने विद्यार्थीमा धेरै सहयोग भएको बताउनु भयो । कार्यक्रमका विशिष्ठ अतिथी नेपाल मगर संघ टोक्यो जापानका उपाध्यक्ष गोविन्द डम्मरपालले जापानमा बस्ने नेपालीहरुले फजुल खर्चलाई जोगाएर उठाएको रकम शिक्षा क्षेत्रमा विकास गर्ने उद्धेश्यले नवजागृत प्राथमिक विद्यालयलाइ छनौट गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ पाल्पाका सचिव शम्शेर सारु, विद्यालयका प्रध्यानाध्यापक गोपीकृष्ण आचार्य ,गाउ बाल संरक्षण समितीका संयोजक हिरा बहादुर रेग्मी लगाएतले बोल्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लाल बहादुर गाहा र गीता गाहाको संचालनमा भएको थियो
