देब पचभैया पाल्पा, चैत १६
पाल्पाको ठिमूरेमा प्रहरीको लाठी चार्जबाट नेकपा माओवादीका २ जना कार्यकर्ता घाइते भएका छन् । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटो सहितको मतदाता नामावली संकलन कार्यलाई अवरोधको प्रयास गरेका कार्यकर्तालाई प्रहरीले लाठी चार्ज गरेको हो ।
लाठी चार्जबाट माओवादीका कार्यकर्ता आशिष दुधराज र रिजन थापा घाईते हुनुभएको नेकपा माओवादी पाल्पाका सह–इन्चार्ज धिरज रानाले बताउनुभयो । कडा सुरक्षाका बिच नामावली संकलन भईरहेको समयमा अबरोध गर्न पुगेका दुई दर्जन कार्यकर्तालाई प्रहरीले तितर बितर बनाएको पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले बताउनुभयो ।
आज बिहानै गाविस कार्यालयमा माओवादी कार्यकर्ता पुगेर मतदाता नामावली संकलन कार्यलाई रोक्न भन्दै तालाबन्दी गरेका थिए । तर गाविसको अन्य काम गर्न दिने सहमति अनुसार गाविसको ताला खोलिएको थियो । ताला खोलेलगत्तै सुरक्षाकर्मी परिचालन गरी मतदाता कार्यलाई अगाडि बढाउने क्रममा रोक्न अपिल गर्दा प्रहरीले लाठीचार्ज गरेको पूर्व सभासद् तथा माओवादी जिल्ला नेतृ लिला सोमैले बताउनुभयो ।
उता प्रहरीले भने मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्यमा अबरोध पुर्याएका कारण लाठीचार्ज भएको बताएको छ । प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीका अनुसार काममा प्रयोग गरिएको ल्यापटप नियन्त्रणमा लिन खोजेपछि प्रहरीले लाठी चार्ज गर्नुपरेको बताउनुभएको छ ।
