देब पचभैया
पाल्पा २४ फागुन ,१६ जनाको ज्यान जाने गरी गत आईतबार बेलुकी पाल्पाको चिदिपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका र घाईते भएका परिवारका आफन्तहरुले गरगहना र पैसा हराएको गुनासो गरेका छन् । चादी, फलामका औठीहरु पाएपनि सुनका गरगहना र पैसाहरु नपाएको उनीहरुले गुनासो गरेका हुन् । बिहेको जन्ती बस दुर्घटनामा परेकाले अधिकांश महिलाहरुले लगाएको १० तोला बढी सुन र युवाहरुले लगाएको औठीहरु प्राप्त नभएको छिमेकी बल बहादुर गाहाले बताउनुभएको छ । उहाका अनुसार दुर्घटनामा उद्धार गर्न जानेहरुले नै गहना र पैसा चोरेको आफन्तले शंका गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक सुर्य चन्दले भने दुर्घटनामा भेटिएका सबै गरगहना र पैसा लगाएतका सामानहरु परिवारलाई बुझाएको जानकारी दिनुभएको छ ।
दुर्घटनामा परि हुमिनका चालक सहित चिदिपानी ७ बुढिकोटका १५ जनाको मृत्यु भएको थियो । एकै गाउका १५ जनाको मृत्यु भएपछि बुढीकोट शोकमा डुबेको छ । घरमा काज कृया गर्ने पुरुष समेत नभएपछि सबै जसो परिवारका महिलाहरु कृया बसेका छन् ।
