देब पचभैया
पाल्पा,फागुन १७ ,उद्योग वाणिज्य संघ पाल्पाको आयोजनामा आज(बिहीबार)बाट तानसेनमा ‘पाल्पा महोत्सव २०६९’सुरु हुदैछ । महोत्सव फागुन २६ गते सम्म संचालन हुने छ ।
“पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार अवसर र संभावना छ अपार” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवको उद्योग वाणिज्य महासघंका केन्द्रिय बरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवमा कृषि जन्य उत्पादन तथा कृषि औजार, अटोमोवाईल्स, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीका उत्पादनका स्टलहरु रहने छन् ।
महोत्सव मुल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सघंका अध्यक्ष मधुदयाल सैंजुका अनुसार महोत्सवमा नयाँ प्रविधिका कृषि औजार सहित अदुवा वस्तुको प्रदर्शनी, कृषि प्याभिलियन, धार्मिक तथा पर्यटकीय स्थलहरुका चित्ताकर्षक फोटो तथा स्वरुप प्रदर्शनी रहने छ भने , रानीमहलको स्वरुपमा सचिवालय र सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन सीसीटिभी क्यामेरा जडान गरिने छ । यसका साथै महोत्सवमा पत्रकार टेकनारायण भट्टराईको एकल फोटो प्रदर्शनी पनि रहने छ ।
यहाँका कुटिर उद्योग, कृषि तथा वनजन्य उद्योग, महिला उद्यमीका उत्पादन, पर्यटन उद्योगबाट उत्पादित वस्तु तथा सेवालाई पर्वद्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा बुधबार देखिनै व्यापारीहरुले स्टलमा सामन ल्याउन थालिसकेको स्टल व्यवस्थापन समितिका संयोजक दिपक पाण्डेले बताउनु भयो । उहाँका अनुसार २ सय ८० मा वढी स्टलहरु बुकिङ्ग भएका छन् । बाल उद्यान, लोक दोहोरी, आधुनी, पप र चलचित्र क्षेत्रका कलाकारहरुको प्रस्तुती महोत्सवको आकर्षणको केन्द्र बिन्दु हुने प्रचार प्रसार संयोजक अजयमान कर्मचार्यले जानकारी दिनु भयो ।
हाँस्य कलाकारहरु प्रहसनका साथै जिल्ला स्तरमा प्रतियोगितात्मक खुल्ला तथा सामूहिक, प्रा.वि.स्तरमा सामूहिक बालनृत्य कार्यक्रम सहितका स्थानीय लोक सांस्कृतिक कार्यक्रमहरु हुने छन् । महोत्सवमा जिल्ला कै साँस्कृतिक पहिचान झल्कने झाँकी प्रस्तुत गरिने छ भने प्रथम, द्धितिय र र्तितीय हुने झाँकीलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैया पुरुकार गरिने कर्मचार्यले बताउनु भयो । महोत्सवमा हुने भिडका कारण दर्शकलाई पर्न सक्ने असरलाई ध्यानमा राखेर नमस्ते मोवाईलको एक टावर र घुम्ती शौचालयको पनि व्यवस्था गरिएको छ ।
काठमाण्डौ, हेटौडा, चितवन, बुटवल, भैरहवा, पोखरा, धनगढी, दाङ, पाल्पा लगायतका स्थानहरुबाट उद्योग तथा व्यापारिक प्रतिष्ठानले स्टल दर्ता गराएका छन् । महोत्सवमा २ लाख बढी दर्शक तथा अवलोकनकर्ता सहभागी भई ५ करोडमा बढीको कारोवार हुने अपेक्षा आयोजकले लिएको छ । महोत्सवको जिल्ला विकास समिति पाल्पा, तानसेन नगरपालिका, नेपाल उद्योग वाणिज्यमहासंघ आयोजक रहेका छन् । साना उद्योग कार्यालय, जिल्ला कृषि विकास कार्यालय पाल्पा सहआयोजक रहेका छन् ।
महोत्सव अवधीभर बन्द हड्ताल तथा चक्का जाम नगर्ने पाल्पाका राजनितिक दलहरुले प्रतिवद्धता जनाएका छन् । महोत्सवबाट हुने आम्दानीलाई पर्यटन क्षेत्रको विकास, पाल्पामा हवाई मैदान संभाव्यता अध्ययन, टुडिखेल मैदानको स्तरोन्नतीका साथै संघबाट निर्माण गर्न लागिएको अतिथी गृह, तालिम तथा सभाहल सहितको बहुउद्देश्यीय भवन निर्माणका लागि रकम छुट्याईने आयोजकले जनाएको छ ।
