आफूहरुले थालेको सडक आन्दोलनबाट सरकारलाई घूँडा टेकाई छाड्ने : सभापति कोइराला

Read Time:3 Minute, 21 Second

दीपा आले

नेपालगंज, माघ १५ नेपाली कांग्रेसका सभापति शुशिल कोइरालाले आफूहरुले थालेको सडक आन्दोलनबाट सरकारलाई घूँडा टेकाई छाड्ने बताउनुभएको छ । सहमतिका लागि तयार नहुने सरकार आन्दोलनको आँधीबेहरीबाट पाखा लाग्ने उहाँले दाबी गर्नुभयो । ७३ औं राष्ट्रिय शहिद दिबसका सन्दर्भ पारेर सोमबार बाँकेको फत्तेपुरमा आयोजित बृहत आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति कोइरालाले सहमतिको मुख्य बाधक नै माओवादी भएका कारण मुलुक अनिर्णयको बन्दी बनिरहेको आरोप लगाउनुभयो । एकीकृत नेकपा माओवादी डर, त्रास र धम्कीका भरमा सत्तामा टिकिरहन खोजेको आरोप उहाँको थियो । सभापति कोइरालाले डर, त्रास र धम्कीका भरमा सत्ता कब्जा गर्ने माओवादीको चाहना दिवा स्वप्न भएको समेत उल्लेख गर्नुभयो । सभापति कोइरालाले जनतालाई दमन गर्ने माओवादी पतन भएर जाने समेत बताउनुभयो । उहाँले जनताको मन जितेर राजनीति गर्न माओवादीलाई आग्रह गर्नुभयो । माओवादीको सर्वसत्ताबाद र तानाशाही प्रवृत्तिलाई परास्त गर्न कांग्रेस सक्षम हुने कोइरालाको भनाई थियो । मुलुकमा चुनाव सुनिश्चित गर्न कांग्रेस नेतृत्वको सरकार जरुरी रहेको उहाँको दाबी थियो । कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य मोहम्मद अफताब आलमले माओवादीले नै मुलुकमा सहमतिको राजनीति तोडेकाले विश्वासको वातावरण निर्माण गर्ने जिम्मा पनि उसकै हो, भन्नुभयो । कांग्रेसलाई संघियताविरोधी भन्नु निराधार रहेको उहाँको भनाई थियो । विभिन्न जाती, धर्मका मानिसलाई उचालेर त्यसमाथि राजनीति गर्ने माओवादी नियत प्रष्ट भएको भन्दै उहाँले मधेशी जनताले पनि संघियता नचाहेको बरु उनीहरुले सम्मान र अधिकार खोजेको नेता आलमको भनाई थियो । त्यस्तै अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले माओवादी चुनाबबाट डराएकाले उसले चुनाब गर्न नचाहेको प्रष्ट भएको भन्दै बर्तमान सरकार अपवित्र गठबन्धन भएको समेत आरोप लगाउनुभयो । कार्यक्रममा एमाले , माओवादी , र राप्रपा लगाएतका दल परित्याग गर्दै ७५ जनाले नेपाली काङग्रेसमा प्रबेश गरेको नेपाली काङग्रेस बाँकेका सचिव बिजय बहादुर यादवले जानकारी दिए । कार्यक्रम नेपाली काङग्रेस बाँकेका सभापति डा. अरुण कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %