दैलेख माघ १२
सरकारले दैलेखका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई फिर्ता बोलाएको छ । गृह मन्त्रालयले आज पत्र पठाउदै ढकाललाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको हो । ढकालको ठाउँमा केन्द्रीय कारागारका जेलर होमनाथ थपलियालाई काजमा पठाइएको छ । यस्तै दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शारदाप्रसाद चौधरी सहित प्रहरी निरिक्षक इन्द्र सुवेदी र किरण न्यौपानेलाई पनि केन्द्रको आदेशमा क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले तीनै जनालाई क्षेत्रीय प्रहरी कार्यालय, सुर्खेतमा हाजिर हुनेगरी सरुवा गरेको हो । पत्रकार डेकेन्द्रराज थापाको हत्याको अनुसन्धानमा रहेका तीन सुरक्षा अधिकारीहरु हिजो प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यक्रममा आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोपमा दैलेखबाट हटाइएका हुन् । हिजो प्रधानमन्त्री भट्टराई एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसंगै दैलेख पुगेपछि विपक्षी गठबन्धनले आगमनको बिरोधमा बन्दसहित कडा बिरोध प्रदर्शन गरेको थियो । त्यसक्रममा विपक्षी र एकीकृत माओवादीका कार्यकर्ताबीच भएको झडपमा दुई दर्जनबढी घाइते भएका थिए ।
यसैबिच सरकारले एक्कासी दैलेखका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षकको सरुवा गरेपछि दैलेखका ६ प्रतिपक्षदलहरुले थप आन्दोलन गर्ने घोषणा गरेका छन । सरुवा गरेको खबर सार्वजनिक भए लगत्तै विपक्षी दलहरु थप आक्रोशित भएका हुन् । दैलेख घटनाको छानबिन गर्न सरकारले गृहमन्त्रालयको सहसचिव लक्ष्मी ढकालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयले आज एक बिज्ञप्ती जारी गर्दे समितिलाई सो घटना हुनुको कारण सम्बन्धमा सत्यतथ्य बुझी छानबिन गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कताका विषयमा समेत सिफारिससहितको प्रतिवेदन सात दिनभित्र पेस गर्न भनिएको छ ।
