पाल्पा,माघ ११
पाल्पाका चार राजनीतिक दलले सरकार विरोधी आन्दोलनलाई सशक्त बनाउने भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय तथा जिल्ला स्तरीय नेताहरू सहभागि छलफलले जुलुस प्रदर्शन र सरकार विरोधी आन्दोलनका कार्यक्रमलाई व्यवस्थित बनाउने निर्णय गरेको हो । संयुक्त लोकतान्त्रिक आन्दोलन संघर्ष समितिको आज तानसेनमा भएको छलफलले माघ १२ जिल्ला सदरमुकाममा हुने आन्दोलनलाई सशक्त बनाउन अन्तरपार्टी सूचना प्रवाह, जनवर्गिय संगठनहरूको परिचालन, पेशागत संस्थाहरूको सहभागिता गराउनेसमेत निर्णय गरेको छ । सरकारविरुद्धको जनप्रदर्शनलाई व्यापक बनाउन प्रचारप्रसार तिव्र पार्ने नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले बताउनुभयो ।
सर्वसत्तावाद र अधिनायकवादका विरुद्ध संघर्ष गरौँ, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको रक्षा गरौँ भन्ने चार दलले तय गरेका छन् । आन्दोलनमा उत्रिएका प्रतिपक्षी दलहरूले डा. बाबुराम भट्टराईको सरकारले संविधानसभाको विघटन गरी संविधान निर्माणको काम अवरुद्ध पारेको, राष्ट्रघाती संझौता गरेको, भ्रष्टाचारलाई प्रश्रय दिएको, हत्यारालाई संरक्षण दिएको आरोप लगाएका छन् । माघ १२ गते १२ बजे तानसेन जाऔँ कार्यक्रममा सहभागि हुन पार्टी कार्यकर्ता, किसान, मजदुर, पेशा व्यवसायीलाई सबैलाई आग्रह गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष राधाकृष्ण कडेंलले बताउनुभयो ।
