काठमाण्डौ, पौष २६,प्रधानमन्त्री डा बाबुराम भट्टराइले देशको राजनैतिक निकासका लागी संबिधान सभाको नयां निर्बाचनको बिकल्प नभएको बताउनु भएको छ । राजनैतिक दलहरुले संविधान सभाको निर्वाचन मार्फत नयाँ संविधान दिन नसकेकाले देश मझधारमा परेको भन्दै उहांले निर्वाचनको सुनिश्चितता सहितको प्याकेजमा राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको बताउनु भयो । त्रिभुवन बिश्बबिद्यालयको दिक्षान्त समारोहलाई संबोधन गर्दै प्रधानमन्त्री भट्टराईले प्रतिपक्षि दलहरुको गैर जिम्मेबारपुर्ण प्रबृतिले संक्रमणकालको सही निकास दिन नसकेको आरोप लगाउनु भयो । आफु कुनै विकल्प नदिने र अरुले अघि सारेको विकल्पको विरोध मात्र गरिरहने गैर जिम्मेवार प्रवृत्तिले अहिलेको अबस्था सृजना भएको प्रधानमन्त्रीको आरोप छ । अग्रमनकारी र यथास्थितिवादी शक्तिले एक अर्कालाई परास्त गर्न नसकेको र एक अर्का संग सम्झौता गर्न पनि तयार नरहेकाले अहिलेको अबस्था उत्पन्न भएको प्रधानमन्त्री भट्टराईको भनाई छ ।
यसै बिच
प्रधानमन्त्री बाबुराम भट्टराईले द्वन्द्वकालका सबै घटनाको छानविन र दोषीमाथि कारवाहीको प्रक्रिया एकैसाथ अघि बढ्ने प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्रीको भनाईको आशय फरक परेको भन्दै प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको भनाईबारे प्रष्टता दिएको हो । व्यक्ति–व्यक्तिलाई कारवाही गरेर सम्भव नहुने भएकाले सत्यनिरुपण, मेलमिलाप तथा बेपत्ता छानविन आयोग गठन गरेर समग्रमा समाधान खोज्नुपर्ने प्रधानमन्त्रीको आशय भएको सचिवालयले जनाएको छ । व्यक्ति–व्यक्तिमा गइयो भने तत्कालिन सत्तामा रहेका नेपाली कांग्रेस, एमाले, नेपाली सेना, तत्कालीन विद्रोही माओवादी सबै मुछिने सचिवालयद्धारा जारी सन्देशमा उल्लेख छ ।
