देब पचभैया
काठमाण्डौ,पौष १७, केही दिन यता सार्वजनिक भइरहेका महिला हिंसाको विरोधमा भइरहेको आन्दोलन जारी छ । आज विभिन्न संघसंस्थाले प्रधानमन्त्री निवास बालुवाटार घेर्ने तथा राजधानीको विभिन्न ठाउँमा प्रदर्शन गर्ने भएका बताएका छन् । आज अन्तरपार्टी महिला संजालको संयोजन तथा विभिन्न संघसंस्थाको सहभागितामा कार्यक्रम हुन लागेको हो । काठमाण्डुको शान्तिबाटिकाबाट र्याली शुरु गरेर विभिन्न ठाउँको परिक्रमा गरेर शान्तिबाटिकामै सभा गरिने भएको छ । यसैबीच अनामनगरको एक घरमा मृत अवस्था फेला परेकी सरस्वतीको शवको पुनपरीक्षणको लागि आज पनि पहल गर्ने भएको छ । प्रधानमन्त्रीले गठन गठन गर्नुभएको टोलीले चिकित्सकहरुको व्यवस्थाको लागि हिजो पनि पहल गरेको र आज शवको पुन परीक्षण हुन सक्ने टोलीमा रहनुभएका राष्ट्रिय महिला आयोगका प्रवक्ता मोहना अन्सारीले सीआईएनलाई जानकारी दिनुभयो । त्यस्तै पछिल्लो समयमा सार्वजनिक भएका महिला हिंसाको अनुगमन गर्न गठित समितिले पनि काम शुरु गर्ने जनाएको छ । प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्ल संयोजक रहेको अनुगमन समितिले बारा, बर्दिया, दैलेख, त्रिभुवन विमानस्थललगायतका ठाउँमा भएका महिला हिंसाका घटनाको अध्ययन गर्ने जनाएको छ । सरकारले अधिकारकर्मीहरु समेत रहेको संयुक्त अनुगमन टोली अस्ति बनाएको छ ।
