प्रधानमन्त्रीको पदसंग लोकतन्त्रलाई साट्न नसक्ने : कोइराला

Read Time:3 Minute, 50 Second

दीपा आले
नेपालगंज, १३ पौष, नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले प्रधानमन्त्रीको पदसंग आफूले लोकतन्त्रलाई साट्न नसक्ने बताउनु भएको छ । प्रधानमन्त्रीको पद पाउनलाई आफूले लोकतन्त्रका मूल्य मान्यतासंग गलत सम्झौता गर्न नसक्ने सभापति कोइरालाको भनाई थियो ।
प्रजातन्त्रवादी प्राध्यापक संघको तेस्रो राष्ट्रिय महाधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै उहाले यस्तो बताउनु भएको हो । “एकीकृत नेकपा माओवादीले जबरजस्त ढंगले मुलुकलाई अगाडि बढाउन खोजेर सहमतिको राजनीति तोडेकाले विश्वासको आधार माओवादीले नै खडा गर्नुपर्छ”, सभापति कोइरालाले भन्नुभयो । राष्ट्रलाई उचित राजनीतिक र संवैधानिक निकास दिने राष्ट्रिय अठोट लिएर कांग्रेस अगाडि बढेकाले मुलुकले छिट्टै निकास पाउने उहांको दावी थियो ।
कोइरालाले वर्तमान सरकारले सहमतीय सरकार चलाउन नसकेको पुष्टि भइसकेकोले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नु मुलुकका लागि हितकर हुने सभापति कोइरालाको जिकिर थियो । कोइरालाले सहमति निर्माणमा लागि कांग्रेसले हदैसम्मको लचकता अपनाएको भए पनि एकीकृत नेकपा माओवादीको दोहोरो चरित्र र परिवर्तन भइरहने बोलीले राजनीतिक निकासमा वाधा पु¥याएको बताउनु भयो । सभापति कोइरालाले प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशनको लागि सफलताको शुभकामना व्यक्त गर्दै सक्षम नेतृत्व चयनका लागि आग्रह गर्नु भयो ।
संघको उद्घाटन समारोहमा बोल्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् केन्द्रिय सदस्य विमलेन्द्र निधिले एकीकृत नेकपा माओवादीले बैशाखमा चुनाव गराउन नचाहेकै कारण मुलुक अनिर्णयको बन्दी बनेको बताउनु भयो । उहांले संवैधानिक निकायमा भइरहेको रिक्तताले मुलुक झनै अप्ठेरोमा पर्ने जान्दाजान्दै माओवादी गैरजिम्मेवार भएर प्रस्तुत हुनुले उसले मुलुकमा अस्थिरता चाहेको प्रष्ट हुने जिकिर गर्नु भयो । अर्का कांग्रेस नेता डा. शेखर कोइरालाले अब पनि सरकार राष्ट्रको निकासका लागि गम्भीर नबने आन्दोलनले सत्ताच्युत गर्ने चेतावनी दिनु भयो । उहांले कांग्रेस नेतृत्वको सरकारले मात्र निष्पक्ष चुनाव गर्न सक्ने दावी गर्नु भयो । त्यस्तै कार्यक्रममा केन्द्रिय सदस्यहरु चन्द्र भण्डारी, दीपक गिरी,  डा. ढिना संगौला, डिल्ली रेग्मी, बर्दिया कांग्रेसका सभापति सञ्जय गौतम, नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति पदमलाल देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रिय सल्लाहकार पोषण केसी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %