विना पुलामी (अस्लामी)
(पाल्पा जिल्ला पूर्व प्यारालिगल सदस्य)
यतिबेला नयाँ दिल्ली पीडाको बोध गर्दै जुर्मुराएको छ । छिमेकी काठमाडौं सत्ता राजनीतिको सन्नाटामा रुमल्लिईरहेको छ । यही डिसेम्बर महिनाको १५ तारिखमा पुरुष सहपाठीहरुसंग रात्री शो फिलिम हेरेर फर्कदा सहपाठीहरुबाटै बसमा बलात्कृत हुन पुग्नुका अलावा उनीहरुको पाशविक आक्रमणका कारण मृत्यु शैयामा पुगेकी ती चेली उपचारको क्रममा सिंगापुरमा डिसेम्बर २९ को बिहान उनले मृत्युवरण गर्न पुगिन् । यही बलात्कारको घट्नालाई लिएर दिल्लीमा दोषीहरुलाई मृत्युदण्ड सम्मको कारवाहीको माग राख्दै दिल्लीमा उनको न्यायका लागि ठूलो जनलहर पनि मैदानमा उर्लीरहयो र मृत्यु पश्चात त झनै जनलहर उर्लिएको समाचार सुन्नमा आएको छ । जसको फलस्वरुप भारतका राष्ट्रपति र सरकार प्रमुखले मूलुक शोकमा डुबेको बहानाबाजी गर्दै सबैलाई संयम रहन अपील समेत गरेका छन् ।
दुईपैसा आर्जन गर्न परदेश गएर फर्किएकी नेपाली चेली माथि समयकै यही दौरानमा आफ्नै देशको अध्यागमनका कर्मचारीले शारीरिक शोषण गर्न पुगेको समाचार पनि बाहिर आयो । काठमाडौंमा यस सवालमा त्यत्ति गर्मागर्मी नचलेता पनि वा उत्पीडकलाई नसिहत दिई पीडितमाथि राहत हुने काम नेपाल सरकारले गरेको भनिएता पनि पीडित नेपाली चेलीले परदेशबाट सकुशल फकिएको अवस्थामा आफ्नै भूमिमा नराम्रो अवस्था व्यहोर्नु पर्दाको स्थिति भने कम्ता चिन्ताजनक अवश्य होईन ।
मानवीय संवेदनाका विषय यदि हामीमा छ भने एउटी चेलीले पुरुष साथीभाईबाट बलात्कृत भई मृत्युवरण सम्म गर्नु परेको भारतको नयाँ दिल्लीमा घटेको दर्दनाक घट्ना र नेपालको काठमाडौंमा त्यस्तै प्रकृतिको ताजा घट्ना दक्षिण एशियाकै लागि दुःखको विषय हो । यो घट्ना आफैमा निकै मर्मस्पर्शी छ भन्दा अनुचित नहोला । एउटी नारी अस्मिता माथिको यस्ता पाशविक घट्नाको जति निन्दा गरे पनि कमी नै हुन्छ ।
सामाजिक रुपमा रहेका यस्ता घट्नाका प्रतिविम्ब त्यस देशको राजनैतिक अस्तव्यस्तताको परिणति हो । अर्थात मूलुकको राजनीतिक खेलाडीहरुले देशको व्यवस्थापनमा भन्दा अन्योलता सृजना गर्ने खेलमा बढी ध्यान दिएको आभास आम मानिसमा पर्न गएको अवस्थामा मौकाको आगमन संगै अनायासै त्यस्ता घट्ना घटित हुन जानु अस्वभाविक पनि हुंदैन । अर्थात राजनीतिक व्यवस्थापनमा कमजोरी देखिदै आएको अवस्थामा गलत मानसिकताबाट उद्देलितहरुले मौकाको फाईदा उठाउन हिच्किचाउंदैनन् । जुन सुकै घट्ना किन नहोस् अवस्था अनियन्त्रित हुन गईसकेपछि त्यसले एकाएक समस्या सृजना गर्न पुग्दछ जुन कुरा विश्व समुदायका माझ मात्र होईन आफ्नै सानो संसारमा पनि लज्जाजनक सावित हुन्छ । दिल्ली र काठमाडौंको घट्नाले यही सन्देश प्रवाह गरेको छ ।
यसका साथै एकातिर पुरुष सहपाठीहरु र साथी भन्दैमा उनीहरुसंग सधैंका समय विश्वस्त भएर हिंड्न नसक्ने अवस्था ज्यूकात्यू छ भन्ने कुरा तत्कालिन घट्नाले प्रष्ट्याउन पुगेको छ भने विश्वव्यापीकरणको समयमा पनि हाम्रा चेली असुरक्षित छन् भन्ने विषय पनि उत्तिकै प्रवल रुपमा उठान हुन पुगेको छ । यसै बीचमा विगत १६ दिनमा १२ ओटा महिला हिंसाका घट्ना भएको समाचार यही पौष १४ गते सञ्चार माध्ययममा आएका छन् । नेपालको सरकार प्रमुखबाट यस्ता घट्नाहरु बारेमा खेद पनि प्रकट गरिएको छ र प्रहरी महानिरीक्षकलाई यस्ता घट्ना बारेमा चनाखो रहन र कारवाही प्रकृयालाई चुस्त राख्न निर्देशन समेत दिईएको छ । तर त्यत्तिले मात्र महिलामाथि हुने घट्नाको सही रोकथाम र महिला अस्मितामाथिको खेलवाडको उपचार हुन असम्भव छ ।
जे होस् भारतको २३ वर्षे किशोरीले सामूहिक बलात्कार पछि मृत्यु वरण सम्म गर्न परेको अवस्था र त्यही समयमै नेपालमा पनि घटेको घट्ना काकताली मात्र होईन । यद्यपि यी घट्नाहरु हाम्रा आँखा अगाडि घटीरहंदा हरेक सचेत नागरिकले केही न केही बोल्नुका अलावा पहलकद्मी पनि लिनु पर्ने हुन्छ । घट्नाको संवेदनशिलतालाई हेरी जसरी छिमेकी दिल्ली तातेको छ र जुर्मुराएको पनि छ, त्यसरी नै काठमाडौं पनि अन्याय र अत्याचारका विरुद्ध समयमै जुर्मुराउन जरुरी छ । केवल सत्ता स्वार्थको राजनीतिमा मात्र रुमल्लिईरहेको हाम्रो भूमिलाई न्यायका रक्त सञ्चार मार्फत तताउनमा कञ्जुसाई किन ? आफ्नो लागि काठमाडौं पनि उठोस् । छिमेकीको न्यायपूर्ण आन्दोलनमा हस्तेमा हैसे गर्न पनि काठमाडौंले अवश्य मुख खोलोस् । हैन भने केन्द्रीकृत राज्यव्यवस्थाको व्याजमा रमाइरहने र एउटा सामान्य चेलीको वेदनालाई वेवास्ता मात्र गरेर सम्मान पाउने दिन सधैं रहने छैन काठमाडौंलाई ।