देब पचभैया
पाल्पा पौष ९, पार्टी एक हुदा संचालन गरेको पाल्पाको रेडियो पश्चिमाञ्चल एफ,एम अहिले प्रहरीको अस्थाई चौकी जस्तै भएको छ । पार्टी फुटेपछि दुबैले आ आफ्ना दाबी गरेपछि २ महिना अघि बन्द भएको एफ,एम रेडियो अहिले सम्म संचालन हुन सकिरहेको छैन । एफ,एम रेडियोलाई दुबै पक्षले कब्जा गर्ने भन्दै कर्मचारी र कार्यकर्ताहरु बिच हात हालाहालको अबस्था आएपछि प्रहरीले कार्यालयमा ताला लगाएर सुरक्षा दिईरहेका छ ।
हरेक दिन प्रहरी सहायक निरिक्षकको नेतृत्वमा आधा दर्जन प्रहरीहरु एफएम र पार्टी कार्यालय समेत रहेको तानसेनको कैलाश नगरमा रहेको भवनलाई रात दिन सुरक्षा दिईरहेका छन् । दुबै पक्ष मिलेर आए वा प्रशासनको रोहबरमा बार्ता गरेर सहमतिमा पुगेपछि मात्रै प्रहरीले लगाएको ताला खोल्ने कुरा भएपनि माओबादीका दुबै पक्ष यस बिषयमा गंभिर नभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख स्थानेश्वर रेग्मीले बताउनुभएको छ । यता नेकपा माओबादी र ऐनेकपा माओबादी पाल्पाका जिल्ला ईन्जार्ज हरुले जिल्ला बाट सहमति नभएकाले केन्द्रले नै निर्णय गरेर सहमति गर्नुपर्ने बताएका छन् । १७ कर्मचारी रहेको रेडियोमा २ बैद्ध र १५ जना सस्थापनका थिए । उनीहरु बिचपनि कुन पक्षको समाचार र कार्यक्रम राख्ने भन्ने बिषयमा बिबाद हुदै आएको थियो ।
पछिल्लो पटक पार्टीको सम्पति बाडफाड गर्ने क्रममा एफ,एम रेडियो बैद्धलाई परेपछि एफ, एममा काम गर्ने सस्थापनका कर्मचारीहरु बिस्थापति भएका थिए । पाल्पाको सबै सम्पतिm बैद्ध पक्षले लिने सहमति भएपनि रेडियोकै बिषयलाई लिएर सहमति तोडिएको थियो ।
एफ,एम रेडियो रहेको घरमा पार्टी कार्यालय समेत संचालन थियो । अहिले पनि २ तला रहेको कार्यालयमा तल्लो तलामा बैद्ध र बिचको तलामा सस्थापनका नेता कार्यकता बस्दै आएका छन् भने कार्यालयको माथिल्लो तलामा एफ,एम संचालन थियो ।
