देब पचभैया
पौष ६, खस्कँदै गएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउने लक्ष्य सहित शुक्रबार देखि बुटवलमा लुम्बिनी एक्स्पो २०१२ तथा अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ । “स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहर देखि गाउँ सम्म व्यापार बिस्तार” भन्ने मूल नाराका साथ रूपन्देही व्यापार संघको आयोजनामा बुटवल मण्डपमा लागेको मेला पुस १७ गते सम्म चल्ने छ ।
मेलाको पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुभएको छ । औद्योगिक क्षेत्रको सन्तुलित र समन्वयात्मक विकास गरी कृषि र उद्योगमा आधारित निर्यातमुखी स्वदेशी उत्पादनहरूको निर्यात प्रबर्दनमा मेलाले मुख्य जोड दिने आयोजकहरुले बताएका छन् ।
मेला सचिवालयले राज्यसत्तालाई दिएको जानकारी अनुसार लुम्बिनी एक्स्पोका लागि साढे ६ सयवटा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरू राखिएका छन् । विदेशी पाहुना र दर्शकहरुलाई आकर्षित गर्न मेलाको मुख्य प्रवेश द्वार लुम्बिनी झल्किने गरी मायादेवी मन्दिरको संरचना निर्माण गरिएको छ ।
मेलामा राष्ट्रिय लोकदोहोरी, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, राष्ट्रिय लोकदोहोरीका कलाकार तथा हांस्य कलाकारहरुको प्रस्तुति, बाल उद्यान, हेलिकप्टर यात्रा, अष्ट्रिचको प्रदर्शनी, विश्वकै कम तौल भएको कुखुराको अण्डा मुख्य आकर्षण रहेका छन् । मेलाको करीव पाँच लाख दर्शकले अवलोकन गर्ने र २५ करोड बरावरको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकहरूले लिएका छन् ।
