काठमाडौ, मंसिर १२, राष्ट्रपति डा. रामवरण यादवले आफूले दिएको समयसीमाभित्रै सहमतीय प्रधानमन्त्री चयन गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ ।
मंगलबार बिहान शितल निवास पुगेका प्रचण्डसंगको भेटमा राष्ट्रपति यादवले समयसीमा भित्रै नागरिकको चाहना अनुसार देशलाई निकास दिन आग्रह गर्नुभएको हो ।
राष्ट्रपतिले समयसीमाभित्र सहमति नजुटेमा के गर्ने भन्नेबारे पनि प्रचण्डसंग सुझाब माग्नुभएको थियो । जवाफमा प्रचण्डले सहमतिका लागि समय थप्नुबाहेक अर्को कुनै विकल्प नरहेको बताउनुभएको थियो ।
राष्ट्रपतिले अहिलेकै सरकारलाई सहमतीय स्वरुप प्रदान गर्न वा नयाँ सरकार गठनका लागि आग्रह गरेको भेटपछि प्रचण्डले जानकारी दिनुभयो । राष्ट्रपतिलाई भेट्नुअघि बिहान आफूले प्रधानमन्त्री डा। बाबुराम भट्टराई, उपप्रधानमन्त्री विजयकुमार गच्छदार लगायतसंग पनि कुराकानी गरेको र सहमतिका लागि धेरै आधार तयार भएको प्रचण्डको दावी छ ।
विपक्षीदलसंग पनि लचकताका साथ आफूले सहमतिको पहल गरिरहेको भन्दै उहाँले छिट्टै गतिरोध अन्त्यको बाटो खुल्ने बताउनुभयो ।
