मंसिर १२, अष्ट्रेलिया सरकारले यौन दुर्ब्यबहारमा परेका सैनिकसंग माफी मागेको छ । अध्ययनमा उनीहरु दुर्ब्यबहारको शिकार भएको तथ्य फेला परेपछि सरकारले माफी मागेको हो ।
रक्षामन्त्री स्टीफन स्मिथले आफ्नै सहकर्मीबाट यौन दुव्यर्वहार हुनु गलत भएको भन्दै आफुलाई यो स्वीकार्य नहुने बताउनुभएको छ ।
दुर्ब्यबहारका घटनाले सैनिकको मनोबल खस्कनुका साथै व्यक्तित्व विकासमा पनि नकारात्मक असर परेको उहाँको भनाई छ । उहाँले यौन दुर्ब्यबहारका शिकार भएकाहरुसित माफी माग्दै पीडितलाई ५२ हजार २ सय डलर क्षतिपूर्ति दिने बताउनुभयो ।
रक्षा मन्त्रालयले सेनाभित्र देखिएको विकृतिलाई सुधार्ने प्रतिबद्धता जनाएको छ । अनुसन्धानबाट सन् १९५० देखि अहिलेसम्म सैनिकमाथि एक हजार भन्दा बढी यौन दुव्यर्वहारको घटना देखिएको छ । सन् २०११ मा यौन दुर्ब्यबहारको घटना सार्वजनिक भएपछि सरकारले अनुसन्धान सुरु गरेको थियो ।
यौन दुर्ब्यबहार खेपेका धेरैले शारीरिक र मानसिक यातना भोग्नुपरेकाले उनीहरु आफ्नो काममा असफल हुने गरेको पनि अनुसन्धानले देखाएको छ ।
