गोविन्द घर्ति देवदह
मंसीर ७, बाटो कालोपत्रे गरेको एक महिना नहुदै बाटोको वीच भागमा दुबो उम्रे पछि स्थानीयवासीहरु चिन्तित भएका छन् । रुपन्देहीको देवदह–४ गगन टोलका स्थानीयवासीहरुको आफनै लगानीमा ८ सय मिटर बाटो करिव १३ लाखको लागतमा कालोपत्रे गरेको हो । गत असोज अन्तिम हप्तामा ठेकेदारले उक्त बाटो कालोपत्रे गरेका हुन । बाटो निर्माण समितिको भनाई अनुसार देवदह–३ निवासी टिकाराम भूषाललाई सो बाटो कालोपत्रे गर्न २ वर्ष अगाडि ठेक्का दिईएको थियो । बाटो निर्माण समितिका कोषाध्यक्ष यमुना भट्टराईका अनुसार ठेकेदारले जिरा राम्रो संग नभुटेको र अलकत्र पर्याप्त मात्रामा नहालेका कारण कालोपत्रे बाटोमा दुबो उम्रेको बताउनु हुन्छ । विगत २ वर्ष देखि सो बाटो कालोपत्रे गर्न शुरु गरेता पनि ठेकेदारको लार्वाहीका कारण दूई वर्ष पछि मात्र सम्पन्न भएको र सोही कारण पिचबाटोमा दुबो उम्रेको बताउनु हुन्छ बाटो निर्माण समितिका अध्यक्ष सावित्रा वस्याल । बाटो कालोपत्रे गर्नको लागि स्थानीयवासीहरुले एक फिटको ३ सय पचास रुपैयाको दरले पैसा संकलन गरेर उक्त बाटो पिच गरेको अध्यक्ष वस्यालको भनाई रहेको छ । अध्यक्ष वस्याल भन्नु हुन्छ ठेकेदारले समयमा बाटो कालोपत्रे गरिदिएको भए यो समस्या आउने थिएन । उता ठेकेदार टिकाराम भूषालले भने आफुलाई बाटो कालोपत्रे गर्न कुनै ठेक्का नदिएको तर आफुलाई कालोपत्रे सम्वन्धी ज्ञान भएकाले समितिलाई सहयोग मात्र गरेको बताउनु हुन्छ । बाटो कालोपत्रे गरे वापत बाटो निर्माण समिति संग आफुले आजसम्म एक रुपैया पनि नलिएको ठेकेदार भुषालले बताउनु हुन्छ । ठेकेदार भूषालका अनुसार २ वर्ष पहिला उक्त बाटो कालोपत्रे गर्न भनी गे्रविलिङ गरेको तर बाटो निर्माण समितिले पैसा पुरयाउन नसके पछि काम रोकेको र अहिले आएर बाटो कालोपत्रे गर्दा सो समस्या आएको बताउनु हुन्छ । ठेकेदारका भूषालका अनुसार ग्रेविलिङ गरेको समयमा कालोपत्रे गरेको भए दुबोको समस्या आउने थिएन । देवदह क्षेत्रमा विगत केही समयदेखि बाटो कालोपत्रे गर्ने काम बढेको छ । कुनै बाटो सरकारी लगानीमा कालोपत्रे भएको छ भने कुनै बाटोमा स्थानीवासीले लगानी गरेको छ तर यस विषयमा सम्वन्धीत निकाले कुनै ध्यान दिएको पाईदैन ।
