हुम तमु,
पोखरा, २४ कात्तिक, गोर्खा भुतपूर्व सैनिक संघ गेसोले स्याङ्जा जिल्लाको फेदिखोला गाविस वडा नं.८ साल्मेडाडामा बेलायती साम्राज्यका निम्ती अनाहकमा बलिदान दिएका ६० हजार गोर्खाको काजकिरिया तथा श्रद्धाञ्जली र गोर्खा स्मारक शिलन्यास कार्यक्रम कास्कीका जातिय संस्थाहरुले सघाउने भएकाछन ।
मंसिर ५ गतेदेखि ७ गतेसम्म काजकिरिया कार्यक्रम र १२ गते गोर्खा स्मारकको शिलन्यास कार्यक्रमका बारेमा पोखरामा आज जातिय संघ संस्थाका अगुवा र धर्मगुरुहरु सँग गेसोले आयोजना गरेको अन्र्तक्रियात्मक छलफल कार्यक्रमका सहभागीहरुले उक्त कार्यक्रम आम नेपालीकै स्वाभिमानसँग जोडिएको भन्दै सबैले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन ।
कार्यक्रममा क्षत्री समाज नेपालका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्री, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका सचिव तथा ह्योल्मो समाजका पुर्ण ह्योल्मो, भुजेल सेवा समाजका कुलबहादुर भुजेल, तामाङ घेदुङ कास्कीका अध्यक्ष दीपक तामाङ, नेपाल मगर संघ कास्कीका सचिव यमबहादुर मगर, ब्राम्हाण समाज कास्कीका अध्यक्ष भेषराज लम्साल, तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष क्याप्टेन इन्द्रबहादुर तमु, नेवा तजिलजि दवुका अध्यक्ष विष्णु शंकर ख्वाउजु, घले समाजका प्रेमबहादुर घले, दुरा समाजका प्रेमबहादुर दुरा, लामा गुरु गोपाल तमु, क्ल्हेप्री चिवा देवबहादुर तमु, राजेन्द्र तमु, पच्यु गुरु लगायतले कार्यक्रममा सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै विभिन्न सुझावहरु दिएका थिए ।
गेसो आन्दोलन, साढी हजार गोर्खाहरुको काजकिरिया तथा श्रद्धाञ्जली र गोर्खा स्मारकको विविध पक्षमा बारेमा गेसोका सभापति पदमबहादुर गुरुङ र सल्लाहकार डा.चन्द्रबहादुर गुरुङले चर्चा गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हुमबहादुर तमुले गरेका थिए ।
