नेपाली कांग्रेस र एमालेले माओवादीसंग बार्ताको औचित्य सकिएको जनाएको भोली पल्टै माओवादी र कांग्रेसबीच छलफल सुरु भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा संविधानका विवादित विषयको छिनोफानो गरि संविधान जारी गर्न कांग्रेस सहमत भए सरकारमा कांग्रेसको नेतृत्व आफूलाई मान्य हुने प्रचण्डले प्रस्ताव गरेका थिए । संविधान जारी नहुने स्थितिमा भने सहमतिको सरकारको नेतृत्व पनि माओवादीले नै गर्ने प्रचण्डले दावी गरे । तर कांग्रेसले भने सहमतिय सरकारको नेतृत्व आफूले पाएको खण्डमा संविधानका विवादित विषय छिनोफानो गरि संविधान जारी गर्न सकिने बताएको थियो । कांग्रेस र माओवादी बीच कार्तिक मशान्त भित्रै सहमति जुटाउन निरन्तर छलफल जारी रहने सहमति समेत भएको कांग्रेस नेता कृण्ण सिटौलाले बताए । छलफलमा प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला र कृण्ण सिटौलाको सहभागिता थियो । कांग्रेसले सहमतिको सरकारको नेतृत्व आफूले गर्नु पर्ने अडान राख्दै आएको छ भने माओवादी आफ्नै नेतृत्वमा सहमतिय सरकार बन्नु पर्ने बताउदै आएकाले सत्ताको नेतृत्वमा कांग्रेस र माओवादीको झगडा केन्द्रित हुदा राजनीतिक गतिरोध लम्विरहेको छ ।
(राज्यसत्ता नेपाल व्युरो )
