एक महिना अगाडि संविधानसभाको निर्वाचनको लागि सहमति गरेको बताएका प्रमुख राजनीतिक दलहरु फेरि पुनःस्थापनाको पक्षमा उभिएका छन् । बिहीवार संविधानसभा भवनमा भएको करीब दुई सय जना पूर्व सभासद् माझ संविधानसभाको पुनःस्थापनाको बारेमा छलफल भएको थियो । तर माओवादी अध्यक्ष प्रचण्डले गरेको पुनःस्थापनाको प्रस्तावमा दलहरु बीच सहमति भने जुटेको छैन । सहमति गरेर मात्रै राष्ट्रिय सहमतिको सरकार निर्माण गरि संविधानसभाको पुनःस्थापना गर्न सकिने पक्षमा नेपाली कांग्रेस र एमाले उभिएको छ । नेपाली कांग्रेसका सचेतक लक्षण घिमिरेले निकासको विषयमा दलहरु बीच अन्यौल कायम रहेकाले सहमति जुटाउन गाह्रो भएको उल्लेख गदै समाधानका लागि पहिले स्पष्ट मार्ग कोर्नु पर्ने बताए । समाधानको बाटो स्पष्ट नगरि गरिने पुनस्थापनाबाट उपलब्धी हासिल हुन नसक्ने तर्क कांग्रेसले गदै आएको छ । राजनीतिक गतिरोध हटाउने विषयमा भन्दा सरकारको नेतृत्वको हानथापमा प्रमुख दलहरु केन्द्रित हुदै गएकोले संविधानसभा विघटन भएको साढे चार महिना वितिसक्दा पनि राजनीतिक संकट समाधान हुने भन्दा झन् जटिल बन्दै गएको छ ।
(राज्यसत्ता नेपाल व्युरो )
