गोविन्द घर्ति रुपन्देही
असोज २२ । मूलुकको वर्तमान राजनैतिक परिस्थितिबाट निकास पाउनका लागि नयाँ जनादेशमा जानु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका स्थायी समिति सदस्य एवं प्रचार प्रसार प्रमुख टोप अस्लामीले बताउनु भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदको आयोजनमामा नवलपरासीको परासीमा मूलुकको वर्तमान राजनीतिक परिस्थिति र निकासको बाटो विषयक सर्वपक्षीय अन्तरसंवाद कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । उहाँले मूलुकलाई लामो समय सम्म संवैधानिक शून्यतामा राख्न नहुने बताउंदै राष्ट्रिय निकासका लागि स्थानीय तहबाटै कडा दवाब दिनु पर्ने बताउनु भयो । लुम्विनी राज्य परिषदका अध्यक्ष नगेन्द्र रौतार थारुको सभापतित्वमा भएको कार्यक्रममा संघीय परिषद सदस्यहरु अशोक पुन, कर्ण बहादुर सुनारी, डब गर्बुजा पुन, रुद्र गुरुङ्ग, नेत्रकला गुरुङ्ग, संघीय सभा सदस्यहरु बल बहादुर तिलिजा, जय बहादुर थापा, उद्योग वाणिज्य संघ, नवलपरासीका अध्यक्ष वैजनाथ जैसवाल, नागरिक समाजका रामजी ज्ञवाली, एनेकपा माओवादीका पूर्व सभासद चिनक कुर्मी, नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु लामिछाने, तमलोपाका जिल्ला सचिव पुरन प्रसाद चौधरी, मधेशी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव, राप्रपाका जिल्ला कोषाध्यक्ष नरेश चौधरी लगायतले बोल्नु भएको थियो । पार्टीद्वारा घोषित चार महिने राष्ट्रिय जनजागरण अभियान–२०६९ कार्यक्रम २४ गते रुपन्देहीको बुटवलमा र २६ गते कपिलवस्तुको तौलीहवामा गर्ने सो पार्टीले जनाएको छ ।
