देब पचभैया, पाल्पा
असोज ८, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले पुर्ण बजेट नआएका कारण देशको विकास ठप्प भएको बताउनु भएको छ । पुर्ण बजेट नआउनु दुर्भाग्य पुर्ण भएको उल्लेख गर्दै उहाँले यसबाट उद्योगी व्यावसायीहरुलाई ठुलो मार परेको बताउनु भयो ।
पाल्पा उद्योग बाणिज्य संघको ५५ औ साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै वैद्यले नेताहरु राजनीतिक सहमतिमा भन्दा पनि कुर्चीको लोभमा फसेकाले मुलुकको अर्थतन्त्र आक्रान्त बनेको बताउनु भयो । मुलुकलाई राजनीतिक संक्रमणबाट जोगाउन छोडेर नेताहरु कुर्चीमा अल्मलिने गरेकोमा महासंघ दुःखी भएको उहाँको भनाइछ ।
मुलुकले कुनै रणनितीक निर्माण नगर्ने तर विदेशी संग हात थापेर विकास गर्न गरेकाले विकासको गति अगाडी बढ्न नसकेको उहाको भनाई छ । निजी क्षेत्रको सहभागितामा न्यनतम् आर्थिक एजेण्डा बनाएर लगानीको वातावरण नबनाए सम्म विदेशी दाताले दिएको रकमले दिगो विकास असम्भव भएको अध्यक्ष वैद्यको भनाई छ ।
साधारण सभामा केन्द्रीय सदस्यहरु भुषण राजलवट र शारदा जिसीले सरकारले करमैत्री वातावरण निर्माण नगरेर करको दर मात्रै बढाएकाले उद्योग व्यावसायीहरु मारमा परेको बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघले जिल्लाको विकासको लागी आन्तरीक हवाइ मैदान, वुटवल–तानसेन अन्र्तगत सिद्धबाबामा सुरुङ्ग मार्ग निर्माणका लागी सरकारसंग माग गरेको छ ।
