तीन दलले सहमति गरेर एक दिन अगाडि निर्वाचनमा जान गरेको निर्णयको चौतर्फी विरोध सुरु भएको छ । नेकपा – माओवादी मधेशवादी दल र अन्य जनजाति पार्टीहरुले समेत त्यसको विरोध गरेका हुन् । माओवादी अध्यक्ष मोहन बैद्यले संविधानसभाको पुनः निर्वाचन गर्न कानुनी र व्यवहारिक रुपले समेत संभव नभएकाले गोलमेच सम्मेलन मार्फत् राजनीतिक निकास निकाल्नु पर्नेमा जोड दिएका छन् । माओवादी अध्यक्ष वैद्यले एक विज्ञप्ती निकालेर दलहरु निर्वाचनमा जान गरेको निर्णय जनतालाई फेरि धोका दिनका लागि भएको उल्लेख गरेका छन् । यता फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि तीन दलले देशलाई बन्धक बनाउने काम गरेकाले फेरि ती दलले नै गरेको निर्वाचन घोषणा आफूहरुलाई मान्य नहुने बताएका छन् । संविधानसभाको निर्वाचन दलीय सहमति विना संभव नभएको उल्लेख गदै तीन दलले मात्र गरेको निर्णयलाई पार्टीले स्वीकार नगर्ने फोरम नेपालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । यता जनमुक्ति पार्टी तथा अन्य दलहरुले पनि संविधानसभाको निर्वाचन अन्तरिम संविधानले परिकल्पना समेत नगरेकाले साथै निर्वाचनका लागि थुप्रै कानुनी जटिलता रहेकाले तीन दलले पुनः संविधानसभाको निर्वाचनमा जान गरेको निर्णय देश र जनताको हित विपरीत भएको बताएका छन् । राजनीतिक निकासका लागि संविधानसभाको पुनस्थापना वा अन्य विकल्पमा सहमति जुटाउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । नेकपा एमालेका असन्तुष्ट जनजाति नेता अशोक राई तथा राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुले दलहरुले ताजा जनादेशमा जान गरेको निर्णयलाई सकारात्मक रुपमा लिइ निर्वाचनमा सहभागी हुने बताएका छन् ।
(राज्यसत्ता नेपाल व्युरो )
निर्वाचनमा जाने निर्णयको विभिन्न पार्टीद्धारा विरोध
Read Time:2 Minute, 30 Second
