पार्टी स्थापना संगै वर्तमान राजनीतिक निकासका लागि गोलमेच सम्मेलनको माग अगाडि सारेको नेकपा माओवादी पार्टीले ७० बुदेँ माग अगाडि सारेर संघर्षमा उत्रिएको छ । माओवादी अध्यक्ष मोहन बैद्यले अहिलेकै अवस्थामा ७० बुदेँ माग पूरा गर्न शान्ति पूर्ण रुपमा आन्दोलनमा जाने बताएका छन् । राजधानीमा बुधवार पत्रकार सम्मेलन मार्फत् पार्टी संघर्षमा उत्रिएको नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले बताएका हुन् । वर्तमान सरकारले राष्ट्रियताको मामिलामा गम्भीर असर पर्ने काम गरेको भन्दै आएको वैद्य नेतृत्वको माओवादीले ७० बुदेँ मागमा समेत राष्ट्रियताको मुद्धालाई प्रमुखता साथ उठाएको छ । माओवादीले राष्ट्रियता अन्तर्गत सन् १९५० को भारतसंगको सन्धी, सन् १९६५ को सुरक्षा सम्बन्धी सन्धी, महाकाली सन्धी, विप्पा सम्झौता लगायत नेपाल र भारत बीच भएका असमान सन्धी सम्झौता खारेज गर्नु पर्ने लगायतका माग अगाडि सारेको छ । संस्थापन पक्षसंग अलग भए लगतै एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले एकता कायम गर्ने प्रयास गरिने बताए पनि माओवादी अध्यक्ष बैद्यले भने एकिकृत माओवादीसंग एकताको महाधिवेशन हुने सम्भावना नरहेको स्पष्ट गदै एक्किृत माओवादीले नियोजित रुपमा एकताको भ्रम फैलाएको आरोप लगाए । एनेकपा माओवादी नेतृत्व तहबाटै माओवादी शिविरमा भएको भनिएको आर्थिक अनियमिताको समेत स्पष्ट छानविन हुनु पर्ने तथा पूर्व लडाकू र बर्हिगमनमा परेका लडाकूको मागलाई सरकारले सम्बोधन गर्नु पर्ने समेत माग पार्टीले अगाडि सारेको छ । सेना समायोजनमा असन्तुष्ट लडाकूहरु विभिन्न माग राखेर आन्दोलन गरिहेको अवस्थामा बैद्य नेतृत्वको पार्टीले समेत उनीहरुको मागलाई सम्बोधन गरेकाले आन्दोलनरत् लडाकूको मनोवल बढाइने काम मात्र गरेको छैन समायोजन कार्य समेत प्रभावित हुने देखिएको छ । पार्टी स्थापना जनविद्रोहका लागि भएको बताउँदै आएको वैद्य नेतृत्वको माओवादी अहिले जनविद्रोहमा जान उपयुक्त नभएको ठम्याउँदै विभिन्न माग राखेर शान्ति पूर्ण आन्दोलनमा उत्रिने उद्घोष गरेको हो । राजनीतिक सहमतिको बातावरण बनाउन सत्ता पक्ष र प्रतिपक्ष दलले प्रयास गरिरहेका बेला वैद्य नेतृत्वको माओवादी आफ्ना माग पूरा गराउँने नाममा आन्दोलनमा उत्रिदा सहमतिका लागि बनिसकेको राजनीतिक वातावरण समेत विथोलिने निश्चित छ ।
(राज्यसत्ता नेपाल व्युरो )
