भदौ भित्रै आफ्ना माग सम्वोधन नभए पार्टी छाड्ने योजनामा एमाले असन्तुष्ट नेताहरु

आफ्ना नौ बुदेँ माग पार्टीले भदौसम्म सम्वोधन गरि सक्नु पर्ने एमाले भित्रका असन्तुष्ट जनजाति नेताहरुले नेतृत्वलाई अल्टिमेटम दिएका छन् । जनजाति नेताहरुले स्थायी समितिमा आफ्ना माग छलफल हुनु पर्ने अडान लिएपछि एमालेले शनिबारदेखि स्थायी समितिको बैठक बोलाएर ती माग बारे छलफल गर्ने भएको छ । माग भदौ महिना भित्रै सम्वोधन नगरिए पार्टीबाट सामूहिक रुपमा जनजाति तथा मधेशी नेताहरु बाहिरिने उनीहरुले बताएका छन् । पार्टीलाई माग सम्वोधन गर्ने अन्तिम अवसरका रुपमा समय दिएको र यो समयमा पनि माग सही रुपले सम्वोधन नभए पार्टी भित्रै बस्नुको औचित्यता सकिने एमालेका नेता रामचन्द्र झाले बताए । 

असन्तुष्ट जनजाति नेताहरुको माग सम्वोधन गरि पार्टीमै राख्न प्रयास थाले पनि एमालेले संघीयता बारेको आफ्नो अडान त्यागी सकेको छैन । जनजाति नेताहरु पहिचान सहितको संघीयताको अडानमा उभिएका छन् भने एमालेले बहुपहिचानमा आधारित संघीयता पार्टीको आधिकारीक अडान भएको बताउँदै आएको छ । एमालेले जनजाति नेताहरुलाई पार्टीको नीति विपरीत बोलेको भन्दै अहिले स्पष्टिकरण समेत लिइरहेको छ । तर, स्पष्टीकरण सोधिएका कतिपय नेताहरुले पार्टीलाई स्पष्टीकरण समेत दिएका छैनन् ।

आफ्ना मागबारे पछिल्लो समय पार्टीले चासो लिएकाले बैठकमा उपस्थिति जनाएको एमाले नेता पृथ्वी सुब्वा गुरुङले बताए । केही समय अगाडिदेखि जनजाति नेताहरु पार्टीको बैठकमा समेत सहभागिता जनाएका थिएनन् ।

 (राज्यसत्ता नेपाल व्युरो )