तीज चाडको प्रसंग र हाम्रो समाजमा महिलाको स्थान

Read Time:12 Minute, 7 Second

कमला थापा,

भनिन्छ नि हिन्दु धर्ममा महिलालाई देवीको स्थान प्राप्त छ, र खुशीको अर्को कुरा के पनि हो भने महिलाहरुलाई हिन्दु धर्ममा साक्षात देवीको रुपमा ग्रहण पनि गर्ने गरिन्छ l यस्तो लाग्छ अस्ति भर्खर झैं लाग्ने सन् २००८ मे २८ तारिखसम्म त हाम्रो नेपाल हिन्दु अधिराज्य नै थियो l त्यस मुलुकमा युगौयुगदेखि आजसम्म महिलाहरुलाई त्यही देवीको स्थान प्राप्त हुदै आइरहेको थियो र छ पनि l तर यथार्थमा कुरो नितान्त भिन्न छ l यदि यसो भएको हुन्थ्यो भने शायद नेपाली महिलाहरुको अबस्था आज यस्तो दयनीय हुने थिएन होला l यस्तो कुराको कल्पना मात्र गर्न सकिन्छ अहिले l

यथार्थमा महिलालाई कुनै देवीको स्थान प्राप्त हुँदो हो त नेपाल एउटा शक्तिशाली मातृसतात्मक राज्य नभए पनि कमसेकम पुरुष र महिला दुबैलाई बराबरीको हक प्राप्त हुने थियो होला l तर दुर्भाग्य यसको ठीक विपरीत कानुनी रुपमा होस् वा ब्यबहारमा होस् महिलाहरुलाई दोश्रो दर्जाको नागरिक सरह बनाइएकै छ  आज पर्यन्त l एकाध अपवादलाई छोडेर भन्ने हो भने महिलाहरुलाई घर, समाज र राज्य सञ्चालन गर्ने नीति निर्माण तहसम्म कहि कतै निर्णायक भुमिका खेल्न नदिइएको अवस्था अझैं पनि यथावत कायमै छ l महिलाहरुलाई युगौदेखि आजसम्म पनि यो निर्णायक भुमिका र अधिकारबाट बन्चित गराइदैछ, यो क्रम अझसम्म टुट्न सकेको छैन l महिलालाई फगत एउटा सन्तान उत्पादन गर्ने साधनको रुपमा मात्रै प्रयोग गर्दै आईरहेको यो तितो यथार्थ हाम्रो समाजमा अझै पनि बिधमान छ l यसरी महिलाहरुलाई पुरुषहरुले केवल सन्तान उत्पादन गर्ने साधन वा बस्तुको रुपमा मात्र हेरी आफ्नो हक अधिकार प्रयोग गर्नबाट बन्देज लगाउदै आफ्नो मनोमानी ढंगले घर, समाज र राज्य सञ्चालन गर्दै आईरहेका छन, यसो भन्न मलार्इ अलिकति पनि संकोच लागिरहेको छैन l

के पनि भनिन्छ भने महिलाहरुको जीवनमा तीन पाटाहरु हुन्छन: ति तीन पाटाहरु मध्ये कुनै पनि पाटोमा महिलाहरुले कहिले स्वतन्त्रताको अनुभुती गर्ने अबसर पाउन सकेका हुदैनन्, र तिनै पाटाहरुमा महिलाहरु सधै पुरुषको अधिनमा बस्नु पर्ने बाध्यता विद्यमान छ l अब पहिलो  पाटोको कुरा गरौ; जब एउटी बच्चीको जन्म हुन्छ ति बालिका वा बिबाहपूर्व पुरै बाबुको अधिनमा रहनु पर्ने हुन्छ, उसका हरेक कृयाकलापहरु वा उ हुर्कने बढ्ने लाउने खानेदेखि लिएर हिड्डुल गर्ने शैली समेत बाबुबाटै तय गरिएको हुन्छ l जब उनी वयस्क बन्छिन तब उनी कस्तो घरमा कस्तो केटासंग जाने भन्ने कुराको पनि बाबुले नै निर्णय गरिदिन्छन् l द्रोसो पाटो; जब उनी बिबाह गर्छिन् तब उनी श्रीमानको अधिनमा बस्नु पर्ने हुन्छ l श्रीमानले जे जस्ता निर्णय गरे पनि त्यही निर्णयको पालन गर्नु पर्ने हुन्छ l त्यसमा उनको कुनै निर्णय नै हुदैन, एउटा घर, समाज सञ्चालन गर्नेदेखि लिएर राज्य सञ्चालन गर्ने निर्णयसम्म पुरुष वा श्रीमानले नै तय गर्दछन् भनौ न यहानेर l विडम्बना कस्तो छ भने, यहांसम्म कि आफ्नो प्रतिनिधित्व गर्ने प्रतिनिधी छान्नसम्म पनि उनिहरुले निर्णय गर्न पाउन्नन, श्रीमानहरुले यसलाई वा त्यसलाई भोट हाल्नु भनी आदेश दिन्छन l अब आएर तेश्रो पाटोको कुरा गर्नु पर्दा जब महिला बृद्ध हुन्छिन् तब उनी सहोदर आफ्नै छोराको अधिनमा बस्नु पर्ने हुन्छ l यहांनेर पनि सबै छोराकै हैकमबाद चल्छ र आफ्नो आमाको जिउने तरिका पनि सम्बन्धित छोराले नै तय गरिदिन्छन् l

यस सिलसिलामा उदाहरणका निम्ति मेरै ममतामयी आमाकै कुरा गर्नु ठीक होला भन्ने ठानेको छु मैले l कमसेकम मैले बुझेसम्म मेरी आमाको जिबनशैली यसरी नै बितेको छ, मलार्इ लाग्छ, मेरी आमालाई हिन्दु धर्मको राम्रो प्रभाव पर्न गएको छ l त्यसले गर्दा नै यस्तो भएको हो, उहांलाई बाल्यकाल देखि नै हिन्दु धर्म, संस्कार, संस्कृति र रितिरिवाज कै बारेमा सिकाईयो र त्यही धर्म संस्कृति र रितिरिवाजलाई निरन्तरता दिन लगाईयो l मेरो बाबा स्वर्गारोहण हुनुभएको पनि निकै बर्ष भैसकेको छ, मेरी आमाले दिनहु बाबाको गोडाको बुढी औलाको जल खाएर मात्र खान बस्नु हुन्थ्यो l बाबा समाजसेबी र राजनितीक क्षेत्रमा काम गर्ने ब्यक्ति हुनुहुदां र धेरै जसो कार्यक्रमबाट ढिला फर्कदा आमा भोकै बस्नु पर्थ्यो l तर घरबाट केही दिनको लागि टाढा जानु पर्दा भने आमाले चुराको पानी खाएर मात्र खाना खान बस्नुहुन्थ्यो l

यसरी मेरी आमा पनि हिन्दु धर्मको यो अचम्मको असमान नियमको जालोमा मज्जाले जेलिनु भएको थियो र अहिले पनि उहांमा त्यो कुरीतिको प्रभाव कायमै छ l बाबा जिबित हुन्जेल मेरी आमाले बाबा प्रति गर्नु भएको दैनिक क्रियाकलाप देख्दा म निकै सोच्ने गर्थे किन यस्तो गर्नु भएको होला भनेर l

प्रसंगवस धर्मको कुरा गर्दा नजिकै आईरहेको हिन्दु नारीको महान चाड समेत भनेर प्रचार प्रसार गरिने तिजको बारेमा कुरा गर्नु उपयुक्त होला । यस्तो लाग्छ तिजको दिन महिलाहरुलाई पुरुषको सर्वसत्ताबादले “कहा जालास् मछली मेरै धढिया” भने जस्तो गरेको पाउछु मैले किनभने हिन्दु धर्मले महिलालाई यो पुरुष-प्रधानताले थिच्नुसम्म थिचेको छ l तिजको एक दिन महिलाहरुलाई आफु पिडित भएको कुराहरु साथीसंगी दिदीबैनीसंग गीतको मध्यमद्वारा पोख्न पाउने र नाचगान गरी बर्षभरीको दुख बेदना पोख्ने अबसर दिईएको जस्तो देखिन्छ । यद्यपी अर्कोतिर पितृसत्तामक सामाजिक व्यवस्थाले महिलालाई यस्तरी बाधेको छ कि त्यसको यहाँ बयान गरेर साध्यै छैन । यस्तो पितृसत्तामक सामाजिक व्यवस्था कुनै पनि महिला, श्रीमान र श्रीमती बिचको असमान सम्बन्धको खाडलमा बाहिर आउनै नसकिने गरी जाकिन बाध्य हुनुपर्दछ । तीजका दिन बिबाहित महिलाहरु श्रीमानको आयु लामो होस् भनेर दिनभरी अर्थात ४८ घण्टासम्म एकथोपा पानी समेत नपिई आफ्नो ज्यानको कुनै प्रबाह नगरी भगवान शिबको ब्रत आराधना गरी श्रीमानको पाउको जल खान बाध्य हुनुपर्दछ । यसै गरी अबिबाहित महिलाहरु पनि राम्रो, सक्षम र शक्तिशाली श्रीमान पाउ भनिकन आफ्नो ज्यानको प्रबाह नगरी, ज्यानै जोखिममा राखी ब्रत आराधना गर्ने गर्दछन् l तर असाध्यै खट्कने अर्थात् चित्त नबुझ्ने कुरा चाहिँ के हो भने कुनै पनि पुरुषलाई भने आफ्नी श्रीमतीको लागि कहिल्यै यसरी व्रत बस्नु आवस्यक नै हुदैन र ठान्दैनन । यसरी यो धर्मले महिलालाई एकदिन स्वतन्त्र भएर बोल्न दिए पनि अर्कोतिर पुरुषकै लागि पानी पनि नपिई ज्यान जोखिममा राखी निराआहार बसी भगवान शिबको पूजा आराधना गर्न बाध्य बनाईएको हुन्छ । यो कुरा ठीक लाग्दैन र के यो ठिक हो र ?

यस्तो लाग्दछ महिलाहरु यस्ता रुडीवादी कुराहरुलार्इ चिर्दै अबका दिनहरुमा बाहिर निस्कन सक्नु पर्दछ । यस निम्ति हाम्रा तमाम् महिला दिदीबहिनीहरुमा सामाजिक एवम् राजनैतिक चेतना आउनै पर्दछ् । जबसम्म महिलाहरुमा राजनैतिक चेतना आउदैन् तबसम्म उनीहरु आ-आफ्नो हक अधिकार के हो त्यसबारे जानकारी राख्न सक्दैनन् l फलस्वरूप सधै दबिएर, हेपिएर नै बस्नु पर्ने बाध्यता बन्छ । सारा नीतिहरु मध्ये राजनीति नै एउटा यस्तो नीति हो जसले समग्र समाज वा पुरै देश, प्रदेशको नियन्त्रण, मार्ग निर्देशन वा बिकासका निम्ति मुख्य भूमिका निर्वाह गरेको हुन्छ l त्यसैले जबसम्म महिलाहरु राजनीतिक रुपमा सक्रिय भै अगाडि आउदैनन तबसम्म महिलाहरुको कदापी बिकास हुन सक्दैन् । अब सहभागिताको मात्र कुरा होइन, महिलाको समान एवम् प्रत्यक्ष प्रतिनिधित्वको (Equal and Direct Representation ) कुरा गरिनु पर्दछ l महिलाहरुको यस प्रकारको प्रत्यक्ष प्रतिनिधित्व बिना कुनै पनि राज्यमा स्थायी शान्ति र दिगो बिकास असंभव छ किनभने तिनै महिलाहरुले आधा आकाश सधै उठाइरहेका हुन्छन । स्वतन्त्रता, समानता, शान्ति र सुरक्षा, मानवीय मूल्य र मान्यता समता मूलक समाजको प्रमुख आधारशिलाहरु हुन । यिनै आधारशिलाहरुमा समता मूलक समाजको निर्माण गरेर मुलुकलाई अगाडि बढाउन सकिन्छ l नेपालका निम्ति समतामूलक समाज, लोकतान्त्रिक शासन पद्धतिको मूलआधार स्तम्भ पनि भएकाले महिलाहरुको समग्र बिकासको लागि धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व अपरिहार्य छ l

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %