गत साउन मशान्त लगतै समय अवधि सकिए पछि अन्यौलमा परेको सेना समायोजन कार्यले अब तिब्रता पाउँने भएको छ । विशेष समितिको समय अवधि सरकारले तीन महिना थप गरे पछि सेना समायोजन कार्य अगाडि बढ्ने संकेत देखिएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले विशेष समितिको म्याद तीन महिना थप गरेको हो । सरकार विवादित विषयमा सहमति गरेर मात्र विशेष समितिको म्याद थप गर्ने पक्षमा उभिए पछि सेना समायोजनको कार्य अन्यौलमा परेको थियो । विशेष समितिको म्याद थप गर्ने कार्यलाई विपक्षी दलका नेताहरुले समेत समर्थन जनाएका छन् । सिमितिका सदस्य नेपाली कांग्रेसका मिनेन्द्र रिजालले सरकारले विशेष समितिको बैठक नबोलाएको बताए । थप गरिएको समय अवधिमा सहमति गरेर समायोजनको काम सम्पन्न गर्नु पर्ने उनले बताए । समायोजनमा जाने करीब तीन हजार माओवादी लडाकूको श्रेणी तथा दर्जा निर्धारणको विषय अझै टुंगो लागि सकेको छैन । समायोजनमा जाने भनिएका कतिपय माओवादी लडाकू स्वतः अवकासमा गएकाले समायोजनमा जाने संख्या क्रमिक रुपमा घटिरहेको छ ।
(राज्यसत्ता नेपाल व्युरो )
