प्रेमप्रकाशलाई सहयोग गर्न समिति गठन

Read Time:3 Minute, 59 Second

पोखरा, १८ साउन, पक्षघातबाट पिडित गायक प्रेम प्रकाश मल्लको उपचारमा सहयोग पुर्याउन ‘गायक प्रेमप्रकाश मल्ल उपचार सहयोग समिति–२०६९’ गठन गरिएको छ । पत्रकार मनोज घर्तीमगरको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले पोखराका विभिन्न क्षेत्रमा पुगेर सहयोग संकलन गर्ने भएको छ ।

समितिको सचिवमा अभिमन्युविक्रम राणा(संगीतकार),कोषाध्यक्ष दुर्गा बहादुर शाह ‘बाबा’ (गीतकार) रहेका छन् । यस्तै समितिको सदस्यहरुमा  महेश भण्डारी (संचार उद्यमी), बुद्ध गुभाजु (संचार उद्यमी), विभु भुसाल (पत्रकार), नवराज बराल (संगीतकार), शेरबहादुर गुरुङ (संगीत उद्यमी), सागर शाह (गायक) रहेका छन् ।

पोखरालाई चिनाउन ‘माछापुछ्रे फेवातालमा पौडी खेल्दो रैछ, पोखरा त साँच्चिकैको पोखरा नै रैछ’ आँखैमा हिउँचुली आँखामा फेवाताल फेवातालमा हिमचुली हिमचुलीमा फेवाताल कस्तो यो कमाल हेर कस्तो यो कमाल’ लगायतका गीत गाएका उनको सहयोगको लागि समिति गठन गरिएको संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

‘पोखरालाई चिनाउन महत्वपूर्ण योगदान दिने श्रष्टा ओछ्यानमा छन्, पोखरेलीको तर्फबाट सानो सहयोग भए पनि गरौं भनेर समिति गठन गरिएको हो’ संयोजक घर्तीमगरले भने‘पोखरालाई यति धेरै माया गर्ने श्रष्टालाई हामीले पनि माया गर्नुपर्छ भन्ने भावना विकास गर्न यो अभियान सुरु गरेका हौं ।’

संयोजक घर्तीमगरले सम्पूर्ण पोखरेलीले खुला हृदयले प्रेमप्रकाशको गायनलाई कदर गर्दै सहयोग गरिदिन र यो अभियानमा सहभागी हुन आग्रह समेत गरेका छन् ।

समितिको विहीबार बसेको बैठकले शनिबार पत्रकार सम्मेलन गरि गायक प्रेमप्रकाशको सहयोगका लागि गरिने अभियानका बारेमा जनकारी गराउने सचिव अभिमन्युविक्रम राणाले जानकारी दिए ।

‘हामी प्रेमप्रकाशका गीतहरु बजाउँदै पोखराका विभिन्न भागमा घुमेर सहयोग संकलन गर्छौ’ सचिव राणाले भने‘प्रेमप्रकाशलाई दयाको पात्र पनि बनाउँदैनौं, कसैलाई सहयोग गर्न जबरजस्ती पनि गर्दैनौं खुला दिलले आआफ्नो गच्छेअनुसारको सहयोग गर्न हामी आग्रह गर्दै हिड्छौं ।’ उनले आईतबारदेखी पोखराको लेकसाईडमा गएर सहयोग संकलन अभियान सुरुवात गर्ने कार्यक्रम रहेको बताए ।

समितिले सहयोग संकलन गर्न औपचारिक रुपमा सुरु नगर्दै प्रेमप्रकाशको गायनबाट प्रभावित भएका पोखराका मानवअधिकारकर्मी एवं समाजसेवी रामबहादुर पौडेलले विहीबार नगद पाँच हजार सहयोग गरेको समितिका कोषाध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले जानकारी दिए । समितिले सम्पूर्ण संगीतप्रेमी, उद्योगी, पर्यटन व्यवसायी, संचारकर्मी, समाजसेवी र पोखरेली महानुभावमा सहयोग गरिदिनुहुन अनुरोध समेत गरेको छ । गायक मल्ल परिवारमा कोही नभएपछि नेपालगंजमा छोरि बाणिश्री मल्लको घरमा सहारा लिएर बसेका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %