पत्रकार द्वयको निधन प्रति पत्रकार महासंघ युरोप शाखाद्वारा दुस्ख व्यक्त

Read Time:5 Minute, 41 Second

केजिन राई, ब्रसेल्स बेल्जियम, जुलाई ३१, पत्रकारद्वय   चन्द्रलाल झा तथा प्रबिण गिरीको निधन प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाले एक बिज्ञप्ती प्रकाशित गरी दुस्ख व्यक्त गरेको  छ । नेपाल पत्रकार महासंघ युरोप शाखाले जारी गरेको सो बिज्ञप्तीमा भनिएको छ बरिष्ठ पत्रकार चन्द्रलाल झाको  जुलाई २७  तारिख बिहान ७। ००  बजे काठमाडौंस्थित  आफ्नै  निवास  मरुहिटीमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ युरोप शाखा स्तव्ध र मर्माहत भएको छ ।

लामो समयदेखि  मष्तिस्कमा रक्तसञ्चार कम भई शरीर काँप्ने (पार्किन्सन) रोगबाट अस्वस्थ रहँदै आउनु भएका पत्रकार झा  उपचार पश्चात २६  तारिख अस्पतालबाट डिस्चार्ज हुनभएको थियो । विसं १९९५ माघ १३ गते काठमाडौंमा जन्मनुभएका झाले वि।सं। २०१५ देखि नेपाल टाइम्सबाट पत्रकारिता सुरु गर्नुभएको  थियो ।  वरिष्ठ पत्रकार झालाई नेपाल पत्रकार महासंघले २०५९ सालमा प्रेस  स्वतन्त्रता सेनानीबाट सम्मानित गरेको थियो ।  उहाँ नेपाल सरकारद्वारा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कारबाट समेत  सम्मानित हुनुहुन्थ्यो ।

पञ्चातकालीन अवस्थामा प्रजातन्त्रको पक्षमा कलम चलाउँदा सधै सत्ताको कोपभाजन बन्दै आउनु भएका वरिष्ठ पत्रकार झाले नेपाल टाइम्स पत्रिकामा समाचार लेखेबापत र पत्रिका प्रकाशन गरेकै कारण पञ्चायती शासनका बेला  चरम दमन र यातनाको सिकार बनेर पनि निर्भीकरुपमा अन्याय र अत्याचारविरुद्ध कलम चलाउनुभएका वरिष्ठ पत्रकार झा विभिन्न अभियोगमा १८ पटक पक्राउ परी सात वर्ष जेल जीवन बिताउनुभएको थियो ।

उहाँको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य र अनुभवी  पत्रकारलाई गुमाएको छ । नेपाल पत्रकार महासंघले यस घटनालाई पत्रकारिता जगतको अपूरणीय क्षतिको रुपमा लिएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत सदा स्मरण गरिरहनेछ ।

स्वर्गीय झाका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ । नेपाल पत्रकार महासंघ युरोप शाखा   उंहाको  मृत आत्मा  प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको  चिरशान्तिको कामना गर्दछ । शोकको यस घडीमा उहाँकी धर्मपत्नी, छोरा र छोरीसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

त्यसैगरी दुइ  दिनको अन्तरालमै चर्चित संचारकर्मी प्रवीण गिरीको निधन भएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालबाट समाचार वाचकका रुपमा छुट्टै पहिचान बनाएका गिरीको ६१ बर्षको उमेरमा जुलाई २९ तारिख  बिहान काठमाडौंमा  भएको निधन प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाले एक बिज्ञप्ती प्रकाशित गरी दुस्ख व्यक्त गरेको छ । चर्चित संचारकर्मी गिरीको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

क्यान्सर रोगबाट पिडीत वहाको यो रेडियो नेपाल हो, अब प्रवीण गिरीबाट समाचार सुन्नुस् भन्ने आवाजबाट तीन दशक भित्रका   एउटा सिङ्गै पुस्ता परिचित थियो। रेडियो नेपाल र नेपाल टेलिभिजनपछि चर्चित संचारकर्मी गिरीले निजी च्यानल एभिन्युज टेलिभिजन र त्यसपछि हिमालय टेलिभिजनमा समाचार सम्पादकको जिम्मेवारी निर्वाह गर्नु भएको थियो ।संचार माध्यमको सेवाका अलावा प्रवीण सरुको पनि परिचय थियो। वहाले  राजधानीको मिनभवन क्याम्पसमा झण्डै तीन दशक सम्म अर्थशास्त्र बिषयको प्राध्यापन गर्नु भएको थियो। चर्चित संचारकर्मी गिरीको निधनले  प्रवासमा रहेका पत्रकारहरु स्तब्ध भएको उल्लेख गर्दै मृत आत्मा प्रति  चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनलाई धेर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना नेपाल पत्रकार महासंघ युरोप शाखाले आफ्नो  विज्ञप्तीमा उल्लेख गरिएको छ । पत्रकारद्वयको दुखद निधनले नेपाली पत्रकारिता जगतमा अपुरणीय तथा अतुलनीय क्षती भएको समेत महासंघ युरोपले  जनाएको छ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %