देब पचभैया, पाल्पा, श्रावण १३, आज बिहान पाल्पामा भएको सडक दुर्घटनामा परि मृत्युहुने १४ जनाकै परिचय खुलेको छ । पाल्पा गुल्मी सडक खण्डको पाल्पाको देउराली गाबिसमा पर्ने जोर्तेमा आज भएको जिप दुर्घटनामा जिप चालक खिरि उत्तर प्रदेश भारतका असोक कुमार तिवारी सहित गुल्मी थानपतिका एकै परिवारका १४ जनाको ज्यान गएको थियो ।दुर्घटनामा दुई जना गंभिर घाईते छन् । घाईते १० बिर्षीय रिलेश राना र ३० बर्षका सतेन्द्र रानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्यमा केही सुधार आएको छ । अचेत अबस्थामा घटनास्थलबाट अस्पताल लगिएको दुबै घाईतेको अहिले सामान्य होस खुलेको र सतेन्द्रले मेरो जहान खै मात्रै भन्न सकेको अस्पतालले बताएको छ ।
दुर्घटनामा २७ बर्षिया गंगा राना, बर्ष १८ की काबेरी राना, २२ बिर्षिया तिर्सना राना, १५ बर्षिया भाबना राना, ५ बर्षकी स्याली राना, ३० बर्षीय नर बहादुर राना, १८ बर्षकी सानु राना,४८ बर्षिया खगिसरा राना, ३० बर्षकी रिता राना उनको छोरी ९ महिनाकी कोषी राना, १९ बर्षीया काबी राना, ३ बर्षक लप्त राना, र १६ बर्षिया दिपा रानाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।
भारतीय नम्बर प्लेटको बि आर १ वाई, ए ४६७८ नम्बरको जिप सडक बाट ८० मिटर तल कुरुगा खोलामा खस्दा थानपति गुल्मीका धन बहादुर रानाका परिवारको ज्यान गएको हो । मृतकको लास पानीमा डुबेको अबस्थामा प्रहरी र स्थानियले बाहिर निकालेका थिए ।
घटना राती भएको हुन सक्ने अनुमान गरिपनि आज बिहान बिहान साढे सात बजे बाख्रा चराउन गएका बेला स्थानियले दुर्घटनामा परेको गाडी देखेर प्रहरीलाई खबर गरेका थिए ।
स्थानिय ज्ञानेन्द्र गैरेका अनुसार दुर्घटनामा परेको गाडी देखेर घटनास्थलमा पुग्दा १४ जनाको ज्यान गैसकेको थियो ।
पंजाब एन्ड सिन्ध बैंक मा म्यानेजर पदमा काम गर्दै आएका थानपति गुल्मीका धन बहादुर राना मगरको ५ दिन अघि भारतमै ज्यान गएपछि उनका परिवार घरमा किरिया गर्न आउदै थिए ।
रिडि गुल्मीका कुल बहादुर बोहोराका अनुसार धन बहादुरका दुईवटी श्रीमति, उनीहरुका छोरा, छोरी,बुहारी र नाती , नातिनाहरु किरियाको लागी घरमा आएका बेला दुर्घटना भएको हो । उनीहरुको परिवार बिगत ३० बर्ष अघि देखि भारतमै बस्दै आएका थिए । दशै तिहार मा मात्रै उनीहरु नेपाल आउ जाउ हुने गरेको छिमेकी हरुले बताएका छन् ।
