राज्यको पुनसंरचना गर्दा जातीय पहिचानको प्रदेशहरुको माग र जातीय राज्यको विपक्षमा विभिन्न जातीय समुदायले आन्दोलन गरिरहेको बेला नेपाल आदिवासी जनजाति पत्रकार संघअनिज कास्कीले पोखरामा शान्ति र सद्भाव विषयक सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । तमु लगायत आदिवासी जनजातिले गण्डक क्षेत्रलाई तमुवान प्रदेश घोषणा गर्नुपर्ने मागसहित तमुवान संघर्ष समिति गठन गरी पोखरा केन्द्रित आन्दोलन र पोखरामै केन्द्रिय कार्यलय रहेको क्षत्री समाज वाहुन समाज लगायतको संयुक्त सघर्ष समितिको पोखरा केन्द्रित आन्दोलन तथा आन्दोलनमा हुने गरेका गतिविधीले वर्षौदेखिको समुदायगत सद्भावमा आँच आइ अशान्ति नफैलिओस भन्ने उदेश्यका साथ आयोजित कार्यक्रमका वक्ताहरुले माग राज्यसँग भएकाले जाति समुदायगत सद्भावमा कुनै समस्या नआउने दावी गरेका छन ।
कार्यक्रममा तमुवान संघर्ष समिति कास्कीका सचिव पुर्ण ह्योल्मोले आदिवासी जनजातिको आन्दोलन अधिकार मुखी र पहिचानका लागि हो भन्नु हुदै आदिवासी जनजातिलाई जातिय राज्यको संकीर्ण सोचाइबाट व्याख्या गर्न नहुने बताए । उनले नेताहरुको चारबुँदे सहमतिको नाउमा ११ प्रदेशको नामाकरण नगरेर संघसंघमा भट्काउ ल्याउन खोजेको आरोप लगाउने हुदै आदिवासी जनजातिको नेताहरुको सहमति प्रति आपत्ति रहेको बताए ।
संयुक्त संघर्ष समितिका प्रवक्ता ब्राम्हण समाज कास्कीका सचिव विश्वमोहन पौडेलले आफुहरुलाई पनि आदिवासीमा सुचिकृत गरिनुपर्ने अखण्ड राष्ट्र र राष्ट्रियताको पक्षमा तथा मुलुकको संघीयता जातीय नभइ हिमाल पहाड तराइ सहितको संघीयता आवाश्यक रहेको बताउनुभयो ।
तमुवान संघर्ष समिति कास्कीका अध्यक्ष देवीराज तमुले सदियौं देखि विभेदमा पारिएका उत्पिडित आदिवासी जनजातिले पहिचान सहिता तमुवान प्रदेशको मागलाई अन्ध जातिय भ्रम फिजाइएकोमा आपत्ति जनाउनुभयो । नयाँ संविधानमा समान अधिकार समानुपातिक प्रतिनिधीत्व र पहुँचको माग गरेका आदिवासी जनजाति माथि आक्रमण भए चुप लागेर नवस्ने चेतावनी दिनु हुदै आदिवासी जनजातिका तर्फबाट शान्ति र सद्भाव खलल नहुने प्रतिवद्धता व्यक्त गरे ।
संयुक्त संघर्ष समिति कास्कीका संयोजक पदमबहादुर कार्कीले अन्तरिम संविधानमा आफुहरुलाई अन्यमा राखेर विभेद गरिएको बताउनुहुदै संघर्ष समितिले राज्यसँग लडाइ लडिरहेको कुनै जातजाति प्रति लक्षित नभएको दाबी गरे । शान्तिका लागि नागरिक समाज सजाल कास्कीका संयोजक अधिवक्ता सुरेन्द्र थापामगरले शान्ति र संवादको अवधारणा प्रस्तुत गर्नुहुदै शताब्दी देखि समुदाय विच कायम रहेको सद्भावले निरन्तरता पाउनुपर्ने बताउनुहुदै राजनितिक दल जिम्मेवार नभएपनि समुदाय समाज प्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रीविनोद प्रतिकले जे नाम दिए पनि यस प्रदेशको राजधानी पोखरा नै हुने भएकाले पोखरा आन्दोलनको केन्द्र होइनले जिम्मेवार नागरिक बस्ने केन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताए । अनिज कास्कीका उपाध्यक्ष विवि आलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस स्वतन्त्रताका सेनानी माधव शर्मा, मुक्ति समाज गण्डकीका अध्यक्ष प्रेमबहादुर विकतमु, मुक्ति मोर्चाका धर्म तमु, तामाङ घेदुङ कास्कीका अध्यक्ष दीपाक तामाङ, किराँत सेवा समाजका गजेन्द्र लिम्बु, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, सचिव रुद्र श्रीस मगर, कोषाध्यक्ष रबिना आले लगायतले शान्ति र सद्भाव तथा समुदाय अधिकारका बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम आदिवासी जनजाति अधिकारका लागि संवादद्धारा शान्ति निर्माण परियोजना आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा भएको थियो ।
हुम तमु, पोखरा
