काठमाडौं घेर्दै: संघीय-लिम्बुवान मार्चपास

Read Time:12 Minute, 10 Second

लिम्बुवान नेपालबाट टुक्रेर जाने नभई सिङ्गो देशलाई नै चलाउन आउने उद्घोष 

लिम्बुवान-काठमाडौं, नेवाः बैशाख २७,  २०६९/

”संघीयता र जातीय(राष्ट्रिय) पहिचानसहितका लिम्बुवान लगायतका राज्यहरूको संवैधानिक सुनिश्चितताका लागि संघीय-लिम्बुवान आन्दोलनले एकात्मकसत्ता केन्द्र काठमाडौंलाई घेरावन्दी गरौं” भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषद उपत्यका समिति काठमाडौंको आयोजनामा २०६९ बैशाख २३ गते काठमाडौंको रिङरोडवरिपरि हजारौं संघीयवादी-लिम्बुवानलगायतका पहिचानसहितका राज्यहरू चाहने जनमासले संघीय-लिम्बुवान मार्चपास सम्पन्न गरेका छन् ।

बैशाख २३ गते बिहान ललितपुरको सातदोबाटो चोकमा सो मार्चपासलाई भीसी रामबहादुर बेघा लिम्बूले उद्घाटन गर्नुभएको थियो । सो उद्घाटन समारोहलाई किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिङ् थाङ्देन, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, तमुवानका तर्फबाट बुद्धिजीवी प्रा. डा. ओम गुरुङ, संयुक्त जनआन्दोलन संघर्ष समितिका संयोजक सीपी गजुरेल र संघीयता कार्यान्वयन लिम्बुवान संघर्ष समितिका संयोजक विजय सुब्बाले सम्बोधन गर्दै शुभकामना मन्तव्य दिएका थिए ।

संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय सदस्य तथा उपत्यका समितिका उपाध्यक्ष विष्णु यक्सोद्वारा स्वागत गरिएको सो मार्चपास उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघीय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले विगतदेखि लिम्बुवानमा चलिरहेको संघीय-लिम्बुवान आन्दोलन अब एकात्मकसत्ता केन्द्र काठमाडौंलाई घेरावन्दी गर्न आइपुगेको बताए ।

काठमाडौंको चक्रपथ-रिङरोड वरिपरि २७ किलोमिटरसम्म लिम्बुवानको झण्डा, व्यानर र विभिन्न मागहरू उल्लेखित प्लेकार्डहरू बोकेर संघीयता र लिम्बुवान लगायतका पहिचानसहितका राज्यहरूको संवैधानिक सुनिश्चितता हुनुपर्ने नाराहरू लगाउँदै पैदल हिँडेर यो मार्चपास अघि बढेको थियो । मार्चपासमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका विभिन्न तह र क्षेत्रका नेतृत्व तथा कार्यकर्ता र शुभेच्छुक समाजसेबी, कलाकार, बुद्धिजीवबीहरूको व्यापक सहभागिता रहेको थियो । साथमा, किरात याक्थुङ चुम्लुङ काठमाडौं, ललितपुर र भक्तपुरको समेत विशेष सहभागिता रहेको थियो । बैशाख २३ गते बिहान ८ बजेदेखि उद्घाटन समारोह सुरुभई सातदोबाटो चोक ललितपुरबाट ९ बज्दा सुरुभएको हजारौंको मार्चपास बल्खु, कलङ्की, स्वयम्भू, गोङगबू, चक्रपथ, चावहिल र कोटेश्वहुँदै बेलुकी ५ बजे सातदोबाटो चोकमै पुगेर मार्चपाससभा गरी सम्पन्न भएको थियो ।

संघीय-लिम्बुवानी जागरण गीत, विभिन्न नाराहरू र च्याब्रुङको घन्काइसँगै अघि बढेको उक्त पैदल मार्चपासलाई काठमाडौंमा रहनुभएका लिम्बुवानप्रेमी विभिन्न समाज तथा परिवारहरूले खाजापानीको व्यवस्था गरी सहयोग गर्नुभएको थियो । यसक्रममा, नेम्बाङ परिवारले बल्खुमा, इङ्नाम परिवारले स्वयम्भूमा, नयाँ बसपार्क होटल व्यवशायीहरूले गोङ्गबूमा, सम्बाहाङ्फे परिवार तथा यामाहा प्रियन्सा इन्टरप्राइजेजले सुकेधारा चाबहिलमा, किरात याक्थुङ चुम्लुङ ललितपुरले सातदोबाटोमा र किरात याक्थुङ चुम्लुङ काठमाडौंद्वारा एम्बुलेन्ससहित मोवाइल खाजापानीको व्यवस्था गरी सहयोग गरिएको थियो । 

यो मार्चपासमा लिम्बुवानका ९ वटै जिल्ला, याक्खा र धिमाल लगायत सबै स्वायत्त क्षेत्र र लिम्बुवानका विभिन्न क्षेत्रबाट स्नातक र स्नातकोत्तर तहमा त्रिभुवान विश्वविद्यालय कीर्तिपुर लगायतका क्याम्सहरूमा अध्ययन गर्न आएका विद्यार्थीहरूको व्यापक सहभागीता रहेको थियो ।
अपरान्हको ५ बजे सातदोबाटो चोकमा पुगी मार्चपास समापन समारोहमा परिणत भएको सभालाई सम्बोधन गर्नेक्रममा संघीय विद्यार्थी युनियनका अध्यक्ष लाहाङ चेम्जोङले जतिसुकै दुःख कष्ट सहेरै भएपनि अब संघीयवादी, लिम्बुवानवासी जनताहरू आफूले चाहेको स्वायत्त राज्य सुनिश्चित गरेरै छोड्ने अवस्थामा आइपुगेको बताए । यसैगरी, संघीय याक्खालेन स्वायत्त परिषदका महासचिव शान्ता याक्खाले मार्चपास समापन सभालाई जोशिलो सम्बोधन गर्दै सङ्खुवा-अरुण-सप्कोशीपूर्व ९ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्यको रुपमा सुनिश्चित गरी त्यसअन्तर्गत याक्खालेन स्वायत्त क्षेत्रको सुनिश्चितता गरी अघि बढ्न सम्पूर्ण याक्खालेनवासी जनताहरू आत्तुर रहेको बताउनु भयो । त्यसैगरी, संघीय मञ्चका सचिवालय सदस्य तथा संघीय महिला परिषदका महासचिव अमृता थेबेले सभालाई सम्बोधन गर्नुहुँदै यदि संविधानसभामार्फत लिम्बुवानले चाहेको ९ जिल्ला लिम्बुवानसहितको संविधान जारी नभए लिम्बुवान आफैले आफ्नो संविधान जारी गरी अघि बढ्नुपर्ने बताए । लिम्बुवानका सचिवालय सदस्य तथा एलभी कमिसार प्रेमदीप थाम्सुहाङले लिम्बुवान भोलेण्टियर्स एलभीहरू लिम्बुवान सुनिश्चितताको लागि जस्तोसुकै चुनौती मोल्न र परिस्थितिहरूको सामना गर्न पनि तयार भएको उद्घोष गरे । यसैक्रममा, अतिथि भीसी रामबहादुर बेघा लिम्बूले मार्चपासलाई सम्बोधन गर्दै यो ऐतिहासिक लिम्बुवान राज्यको माग नौलो कुरा नभएकोले यसलाई कसैसँग माग गर्नेभन्दा पनि पहिलै भएकोलाई कायम गराउने सवाल भएकोमा जोड दिए । त्यसैगरी, मार्चपास समापन सभालाई सम्बोधन गर्दै लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले सो मार्चपासका सहभागी सम्पूर्ण महानुभावलाई सम्बोधन गर्दै अब काठमाडौं उपत्यकामा पनि संघीय-लिम्बुवान आन्दोलन जागेको बताए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले सभालाई सम्बोधन गर्दै सो रिङरोड मार्चपासको समाजशास्त्रीय एवम् आध्यात्मिक अर्थसमेत भएको बताउँदै एकात्मक शासकहरूले लिम्बुवान र लिम्बुवानी जनतालाई कहिल्यै परास्त गर्न नसकेको इतिहास सम्झए। माखिमले फेरिपनि लिम्बुवान राज्यको सुनिश्चितता नगर्ने खेलभएमा लिम्बुवानी जनताले कुनै हालतमा पनि नछाड्ने र लिम्बुवानको कायम गराएरै छोड्ने बताए ।

मार्चपास सभालाई सम्बोधन गर्दै संघीय मञ्च तथा सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले यो ऐतिहासिक मार्चपास सम्पन्न गरेर लिम्बुवानी जनताले नेपालको इतिहासमै नयाँ इतिहास रचेको बताए । वहाँले नेपालको सन्दर्भ र संघीय आन्दोलनको सन्दर्भमा भोलि सबै ठाउँ र क्षेत्रहरू हारेर पछि हटे पनि संघीय-लिम्बुवान आन्दोलन कहिल्यै पछि नहट्ने विश्वस्त दिलाए । वहाँले आफूहरूले कुनै पद र मन्त्री नभई अब बन्ने नयाँ नेपालको संघीय संविधानमा ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका ९ जिल्लाहरूलाई लिम्बुवान स्वायत्त राज्य कायम गर्न चाहेको बताए । वहाँले कुनै पनि ठाउँ र क्षेत्रको विकास त्यहाँको जनताको परिश्रम र आत्मविश्वासले गर्ने बताउँदै देश र राष्ट्रको मायाले यसरी हजारौं लिम्बुवानवासी जनताहरू रोडमा घण्टौं हिँड्न पनि तयार भएको बताउनु भयो । अध्यक्ष मिराकले लिम्बुवान नेपालबाट टुक्रेर जाने नभई लिम्बुवानका नेतृत्वहरू अबको केही वर्षभत्रै बरु सिंहदरवारको प्रमुख बनेर सिङ्गो संघीय नेपालको विकास र प्रगतिका योगदान पुर्‍याउनसक्ने बताउनु भयो । वहाँले संघीय लडाइँ भनेको कुनै जातिको विरुद्धमा कसैलाई लखेट्ने नभई सबै मिलेर राष्ट्रको विकास गर्ने भएको बताउँदै सबैलाई यो संघीय लिम्बुवान आन्दोलनमा समाहित हुनसमेत आह्वान गरे ।

कार्यक्रमको अन्तमा, मार्चपासको आयोजक संघीय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका समितिका अध्यक्ष तथा लिम्बुवानका केन्द्रीय सदस्य शिवकुमार पाङ्गेनहाङ लिम्बूले सो मार्चपासका सहभागी र सहयोगी सबैलाई हार्दिक धन्यवाद दिँदै लिम्बुवानको संवैधानिक सुनिश्चितता नभएसम्म यसैगरी अझ सशक्तताका साथ यो आन्दोलनमा लागिरहन आग्रह गर्दै मार्चपासको समापन गरेका  थिए ।

–  डीबी आङ्बुङ लिम्बू

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %