ठूला पार्टीमा ज्यू हजूर गर्न जानु भन्दा सानो पार्टी नै वेश

Read Time:5 Minute, 43 Second


रविन्द्रउच्च नेपाली
मुलुक यतिबेला राज्यपुर्नसंरचनाको संघारमा छ । सबै आआफ्ना समुदायको अधिकारका लागि वकालत पनि गरिरहेका छन् । तर जातीय एकाधिकारवादी राज्यको सबैभन्दा बढी दमनमा परेका दलित समुदायको विषयमा बोल्नेहरु भने एकदमै कम छन् । जबकी दलित समुदायको अधिकार सबैभन्दा पहिलो प्राथमिकतामा पर्नु पर्ने हो ।

यसअघि पटक-पटक भएको राजनीतिक परिवर्तनमा पनि दलित समुदायको मुद्दालाई कसैले पनि सम्बोधन गर्न चाहेनन् । मेरो हजुर बुवा मानबहादुर नेपाली विपि कोइरालासँग रगतले हस्ताक्षर गर्ने योद्धा हुनुहुन्थ्यो । हजुरबुबाहरुको बलिदानीले गर्दा नै काँग्रेसले दर्जनौं पटक शासन गर्ने अवसर पायो । तर काँग्रेसले दलित समुदायका लागि केही गरेन् । मेरो बुबा राम नेपालीले पनि काँग्रेसका लागि धेरै त्याग गर्नु भयो । तर समता मुलुक समाज निर्माणको सपना काँग्रेसले चकनाचुर पार्यो । २०५१ मा दाङको विजोरी गाविस उपाध्यक्षमा उम्मेदवारी दिँदा उहाँलाई काँग्रेसहरुले नै हराई दिए । आफूलाई भोट नदिने समुदायकालाई आफ्नो भोट दिनु हुँदेन भन्ने बुवाको सिद्धान्त थियो । वाहुन र क्षेत्रीले नेतृत्वको गरेको पार्टीबाट दलित लगायत पिछडिएका समुदायको अधिकार सुनिश्चित हुन सक्दैन भन्ने यो भन्दा ठूलो प्रमाण के हुन सक्दछ ।

राष्ट्रिय जनमुक्ति पार्टीमा आवद्ध भएर राजनीति गर्न थालेको १४ वर्ष भयो । यो पार्टीले उठाएको राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त यो देशको कुनै पार्टीसँग पनि छैन । संघीयता धर्मनिरपेक्षता र आरक्षण जस्ता विषय कार्यान्वयन हुनुको कारण पनि हाम्रै पार्टी हो । पहिचान सहितको संघीयता हाम्रो माग हो । योसँगै दलित समुदायको मनोबल उच्च बनाउन उनीहरुका लागि पनि संघीय प्रदेश आवश्यक छ ।

दलित र गैरदलित नेताहरुले समेत मलाई ठूला भनिएका पार्टीमा लागमा तत्काल लाभ हुने प्रलोभन देखाउँछन् । तर मलाई मेरो निजी स्वार्थका लागि सम्पूर्ण दलित बनाइएका समुदायको अधिकारमाथि कुठाराघात गर्नु छैन । दलित जनजाति मधेशी र महिलाको मुक्तिका लागि जनमुक्ति पार्टीको विकल्प छैन । हाम्रै दलित साथीहरु मन्त्री हुँदा ठूलै मान्छे भएँ भन्नेहरु पनि नभएका होइनन् । तर उनीहरु अर्काको पिछलग्गु मात्रै हुन । नेता होइनन् । नेता भईसकेपछि अर्काले अराहेपराहेको काम गरेर बस्नु हुँदैन । तर एमाओवादी काँग्रेस र एमाले जस्ता पार्टीका लागेहरु अहिले पनि वाहुनहरुको ज्यू हजुर गर्ने अवस्थामा छन् ।

दलित समुदायको भएकै कारणले विभिन्न समस्या भोग्नुपर्ने अवस्था छ । पढे लेखेको र नेता भन्नेहरु पनि जातकै आधारमा सिधै तिमी भन्न पछि पर्दैनन् । यस्तो बेलामा प्रतिवाद गर्न सक्नुपर्दछ । उनीहरुको मनदुख्ला भनेर बस्नु हुँदैन । हामीलाई अपमान गर्दा कति ठेस पुग्छ भन्ने नबुझ्नेहरुसँग झुकेर बस्नुको अर्थ छैन । काँग्रेसका धेरै नेताहरुले यस्तो व्यवहार गरेको आफै पनि भोगेको छु ।

छुवाछुत जस्तो घृणित विषयलाई कानुनले अपराध मानेको छ । तर व्यवहारिक पक्ष एकदमै फितलो भयो । अपराध भनीसकेपछि दोषीलाई दण्डित गर्नुपर्नेमा न्यूनीकरण गर्ने भनिएको छ । यसले व्यहारिक कठिनाई उत्पन्न भएको छ । दलित समुदायका नेताहरु अर्काको पुच्छर भएर होइन आफै बोल्न पाउने गरी नीति निर्माण तहमा नपुगेसम्म यो समस्याले निकास पाउला जस्तो लागेको छैन ।

जेठ १४ गते भित्र पहिचान सहिताको संघीय प्रदेश निर्माण भएको संविधान जारी गरिनुपर्दछ । त्यसमा दलित समुदायको मनोवल उकास्न खालको संवैधानिक प्रावधान आवश्यक छ । भूमि र आरक्षणका विषयलाई पनि सम्बोधन गर्नु आवश्यक छ । समग्रमा भन्नु पर्दा दलित समुदायको उन्नती नभएसम्म मुलुकको समृद्धि सम्भव छैन ।
(राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य नेपालीसँग राज्यसत्ता काठमाडौं ब्यूरोले गरेको वार्तामा आधारित )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %