लुम्विनी विकास कोष र पुरातत्व विभागवीच समन्वय हुन नसक्दा देवदह क्षेत्रमा उत्खनन्को काम अगाडि बढ्न नसकेको संस्कृति मन्त्रालयका सचिव तारानाथ गौतमले बताएका छन् । भगवान गौतम बुद्धको मावली स्थल कोलियराज्यको पहिचान भईसके पनि महत्वपूर्ण क्षेत्रको उत्खनन् गर्ने काम र प्रचार प्रसार गर्नेकाम मात्र वाँकी रहेको वैशाख १६ गते सचिव गौतमले बताएका हुन् । रुपन्देहीको भवानीपुरमा भएको उत्खनन्को समापन कार्यक्रममा बोल्दै सचिव गौतमले देवदहको उत्खनन् संरक्षण र प्रचार प्रसारमा राज्यले लगानी बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पुरातत्व विभागका उपमहानिर्देशक भरतमणि सुवेदीले पुरातात्विक एवं ऐतिहासिक स्थलहरुलाई उत्खनन् गरेर पर्यटन उद्योगलाई अगाडि बढाउन सकिने धारणा राखे । देवदह क्षेत्रको उत्खनन्को लागि विभागले प्राथमिकताको क्षेत्रमा राखेको उपमहानिर्देशक सुवेदीको दाबी थियो । <br>
सोही कार्यक्रममा बोल्दै पुरातत्व विभागका वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्रले देवदह क्षेत्रलाई विश्वकै ठूलो बौैद्ध स्थलको रुपमा विकास गर्नु पर्ने र शान्ति शहरको रुपमा अगाडि लानु पर्नेमा जोड दिए । पुरातत्व विद् प्रकाश दर्नालले देवदह क्षेत्र लुम्विनी तथा देशकै लागि नयाँ ईतिहास हुनसक्ने उल्लेख गरे ।
महामाया भवानी उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ पौडेलको अध्यक्षता उत्खनन् कार्यक्रमका संयोजक रामबहादुर कुवरको स्वागत र सुभद्रा भट्टराईको संचालनमा सम्पन्न भएको कार्यक्रममा सिद्धिचरण भट्टराई, वासुदेव रिमाल, रमेश पाण्डे, टेकबहादुर कार्की, सिता पाण्डे, उमानन्द भूसाल, विष्णु ज्ञवाली, अरुणा नकर्मी, काजीमान प्याकुरेल लगायतले बोल्दै उत्खनन् कार्यलाई निरन्तता दिनु पर्ने धारणा राखेका थिए ।
गोविन्द घर्ति, देवदह
