पोखरा, बैशाख २
नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिले नयाँ वर्ष २०६९ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चौथो नियमित रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मगर तथा नेपाली भाषामा १५ जना श्रष्टाहरुले कविता वाचन गरेका थिए । कार्यक्रममका सभानायीका तथा साहित्यकार फूलकुमारी थापा मगरले वाचन गरिएका रचनाहरुको समिक्षा तथा विश्लेषण गरेकि थिइन । कार्यक्रमका विशेष अतिथि एवं नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगरले भाषा, संस्कार र संस्कृतिको जगेर्नाको लागि साहित्य लेखनको महत्वपूर्ण भूमिका रहेको हुनाले यस खालको कार्यक्रमहरुलाई अझ मगर गाउँ र समुदायसम्म पु¥याउन आग्रह गरे । यसैगरी नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका सल्लाहार एवं गेसो पश्चिमाञ्चलका अध्यक्ष हर्कबहादुर पुन मगरले आफ्नो भाषा, संस्कृतिको जगेर्नाको कर्तव्यबोध सबैले गर्नुपर्ने र यसलाई लेखनको माध्यमले बुलन्द गराउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर भुजेल, आदिवासी पत्रकार संघ केन्द्रीय उपाध्यक्ष तिलक पुन मगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष मनकुमारी पुन मगर, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष शिव थापा मगर, रिवर्थ इभेन्ट म्यानेजमेन्टका अध्यक्ष अरुण दलार्मी मगर, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय सदस्य फरेन्द्र थापा मगर लगायतले लेखनको माध्यमबाट अधिकार प्राप्तिका लागि आवाज उठाउनु पर्नेमा जोड दिएका थिए । जातीय पहिचान भनेकै उनीहरुको भाषा, संस्कार र संंकृति भएकोले यसलाई सधै जिवन्तता दिलाउन लेखकहरुलाई आग्रह गरे ।
कार्यक्रममा साहित्यकार एवं पत्रकार रुद्र हिटान मगर, नेपाल मगर लेखक संघ केन्द्रीय सदस्य रुद्र सन्देश मगर, नेपाल मगर चलचित्रकर्मी संघका महासचिव मेजन पुन मगर, नेपाल आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष हुमबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य सहित रचना वाचन गरेका थिए । यसैगरी नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष गम्भीर राना मगर, ऋतुभक्त थापा मगर, पत्रकार गोविन्द सिंजाली मगर, मीना थापा मगर, कष्ण थापा मगर, पवित्रा बुढा मगर लगायतले भाषा, संस्कृति र अधिकारका लागि एकजुट होऔं भन्ने सन्देशका कविताहरु वाचन गरेका थिए ।
यसैबीच जिवसीम साहित्य पुरस्कारबाट यस वर्ष रु। ३० हजार नगद रासी सहित सम्मानित हुनुभएका प्रथम मगर महिला उपन्यासकार फूलकुमारी थापा मगरलाई सो अवसरमा सम्मान गरेको थियो । आदिकवि जितबहादुर सिंजाली प्रतिष्ठानद्धारा प्रदान गरिएको यो पाँचौ पुरस्कार हो । यसैगरी नेपाल मगर विद्यार्थी संघ कास्कीको १३ओं अधिवेशनबाट अध्यक्ष पदमा चुनिएका गम्भीर राना मगरलाई पनि बधाई सहित संघले सम्मान गरेको थियो ।
संघका उपाध्यक्ष यामबहादुर मगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मिना थापा मगरले गर्नुभएको थियो भने सह–सचिव विनोद रखाली मगरले स्वागत मन्तव्य राखेकाथिए ।
लेखनको माध्यमले मगर भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको उक्त संघले हरेक महिनाको पहिलो शनिवार नियमित रुपमा रचना वाचन कार्यक्रमको आयोजना गर्दै आएको छ । अव पाँचौ रचना वाचन जेष्ठ ६ गते हुने संघले जनाएको छ ।
मीना थापा मगर
लेखेर पहिचान जोगाउने प्रतिबद्धता
Read Time:4 Minute, 54 Second
