पुरुषवादी समाजमा महिलालाई हक अधिकार सम्पन्न गराउन पालो प्रणाली लागु गर्न माग गर्दै महिलाहरुले धर्ना कसेका छन् । ग्लोबल सोरोरिटीको आयोजनामा चैत ९ गते काठमाडौं रत्नपार्कमा दुई दिने धर्ना शूरु गरिएको हो ।
उनीहरुले सरकारी र सामुदायिक दुबै क्षेत्रमा महिला र पुरुषलाई पालोपालो जिम्मेवारी दिन माग गरेका छन् । जस्तो पहिलो वर्ष पुरुष अध्यक्ष भएको संस्थामा अर्को वर्ष स्वतः महिलालाई अध्यक्ष बनाउनु पर्ने उनीहरुको माग रहेको छ ।
आयोजक संस्थाकी अध्यक्ष मनिका घिमिरेले पुरुषहरुले ३३ प्रतिशत पनि दिन नमानेपछि आफूहरु बाध्य भएर पालो प्रणालीमा जानुपरेको धारणा राखिन् । सरकारले महिलाका लागि ३३ प्रतिशत सिट आरक्षित गरेको भए पनि व्यवहार कार्यन्वयन भईसकेको छैन ।
