यसरी सम्पन्न गरियो लिम्बुवानको मार्चपास

Read Time:5 Minute, 44 Second

संघीय मन्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले लिम्बुवान नेपालको पूर्वी सीमा मेचीपुल काँकडभिट्टाबाट दमकसम्मको करिब ५० किलोमिटर लामो दुईदिने पैदल लिम्बुवान मार्चपास सम्पन्न गरेको छ । संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष नेपालको संविधान जारी गरी यसअन्तर्गत ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकार र स्वशासनसहितको सङ्खुवा-अरुणपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न माग गर्दै मार्चपास गरिएको लिम्बुवान मार्च पासका प्रमुख नेतृत्व संघीय माच तथा माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले बताए ।

लिम्बुवान नेपालको पूर्वी सिमाना मेची पुल काँकडभिट्टामा मार्चपासको लागि भेला भएका हजारौं नेता कार्यकर्ताहरुमाझ मेचीपुल मार्च पासको शुभाराम्भ गरिएको थियो । संघीयता गणतन्त्र र लिम्बुवानका विभिन्न नाराहरु उद्घोष गर्दै फागनु २६ गते बिहान मेचीपुस काँकडभिट्टाबाट शुरु भएको  मार्चपासले करिब ३५ किलोमिटरको पैदलयात्रा पार गरेर त्यसदिन सत्तासी दूधेसम्म पुगेर त्यही गाउँमै एक रात विश्राम गरेको थियो । यसैगरी दोस्रो दिन फागुन २७ गते सत्तासी दूधेबाट बिहान मार्चपास शुरुभई करिब १५ कि. मि. को दूरी पार गरेर दिनको २ बजे दमक झापामा पुगी समापन समारोहमा परिणत भएको थियो ।

यो ऐतिहासिक दोस्रो लिम्बुवान मार्च पासलाई पूर्व-पश्चिम लिम्बुवान लोकमार्गको विभिन्न गाउँ र चोकहरुमा  स्थानीय लिम्बुवानवासी र किरात याक्थुङ चुम्लुङ तथा सङ्गठनका शुभेच्छुकहरुले फूलमाला र अविर पहिर् याई स्वागत गरेका थिए । विभिन्न साँस्कृतिक झाँकीहरु साकेला नाच येबा नाच र च्याब्रुङ नाचको साथ सम्पन्न यस मार्च पासको क्रममा लिम्बुवानका नेतृत्वहरुले मेचीपुल काँकडभिट्टा सत्तासी दूधे र दमकमा मार्चपासलाई सम्बोधन गरेका थिए । सत्तासी दूधेमा मार्चपासलाई सम्बोधन गर्दै लिम्बुवानका सचिवालय सदस्य तथा संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङले लिम्बुवान मार्चपासमा उल्लेख्य रुपमा महिलाहरुको सहभागिता भएकोमा खुशी व्यक्त गरे । लिम्बुवानका केन्द्रीय सदस्य नेत्र ढकालले मार्चपासलाई सम्बोधन गर्दै लिम्बुवान सबै जाति वर्ग र क्षेत्रको साझा आन्दोलन भएकोले यसमा सबै लिम्बुवानवासी के क्षेत्री के बाहुन र अन्य सबैलाई निर्धक्कता साथ यो आन्दोलनमा सरिक भई सकारात्मक योगदान पुर् याउन समेत आह्वान गरे । अर्का केन्द्रीय सदस्य दिलकेशर थापा क्षेत्रीले नेपाल संघीयता नै नहुने र भएपनि नाम मात्रको हुने वा लिम्बुवानलाई टुक्राउने तवरले प्रस्ताव गरिएकोले त्यसको विरोधस्वरुप तत्काल सच्याउन र अरुण-सप्तकोशी पूर्व ९ लिम्बुवान स्वायत्त राज्यको सुनिश्चिता गराउन सो लिम्बुवान मार्च पास गरिएको बताए ।

लिम्बुवान मार्चपासलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय माचका महासचिव खगेन्द्र माखिमले अहिले विश्वको राजनीति नै पहिचानको राजनीतिमा केन्द्रित भएकोले नेपालको संघीयता पनि पहिचानको आधारमा हुनुको विकल्प नभएको धारणा राखे । लिम्बुवान मार्च पासका प्रमुख नेतृत्व संघीय माच तथा माचसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष लिङ्देनले दमकको गणतन्त्र चोकमा आयोजित मार्च पासको समापान समारोहलाई सम्बोधन गर्दै लिम्बुवानले जहिल्यै अनेक बन्द हड्ताल गरेर जनतालाई दुःख दिने मात्र होइन आवश्यक परे असहैय दुःख पीडाहरु सहेर आन्दोलनमा उत्रेर त्याग गर्न पनि सक्छन् भन्ने सन्देश दिन यो मार्चपासको आयोजना गरिएको बताए ।

डीबी आङ्बुङ लिम्बू
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %