नेकपा एमाले नेता केपी शर्मा ओलीले नेपालमा कुनै आदिवासी नभएको बताएका छन् । अखिल नेपाल महिला संघले फागुन १९ गते आयोजनाका गरेको कार्यक्रममा बोल्दै ओलीले विदेशीले हालसम्म शासन नगरेको उल्लेख गरे । वाहुन र क्षेत्री मात्रै होइन यहाँका भूमिपुत्र मगर गुरुङ थारु राई लिम्बु नेवार लगायत कोही पनि आदिवासी नभएको ओलीले कार्यक्रममा जिकिर गरे । राजधानीमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा ओलीले यस्तो भाषण गरिरहँदा ओलीलाई नेता मान्ने आदिवासी जनजातिहरुले भने हात दुख्ने गरी ताली पिटिरहेका थिए ।
कार्यक्रममा ओलीले मुलुकमा जात तथा भाषाका आधारमा राज्य पुनःसंरचना गर्दा हिँसा निम्तिने बताएका छन् । एमालेका तेस्रो वरियताका नेता ओलीले मुलुकभर हिमाली पहाडी र मधेसी सबैको पहुँच हुनुपर्नेमा जोड दिए ।
संयोजक गोमा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपाध्यक्ष विद्यादेवि भण्डारी इन्जिनियरिङ अध्ययन संस्थानका डिन डा भरत पहाडी र प्राध्यापक लालबाबु यादव लगायतले आआफ्नो धारणा राखेका थिए ।
