
पूर्व मन्त्री गोरेबहादुर खपाङ्गी मगर अध्यक्ष रहेको प्रजातान्त्रिक जनमुक्ति पार्टीलाई निर्वाचन आयोगले खारेज गरिदिएको छ । निर्वाचन आयोगले पटक पटक ताकेता गर्दा पनि पार्टीको हिसाब किताब नबुझाएपछि खपाङ्गीको पार्टी सहित संविधानसभा निर्वाचनमा भाग नलिएका अन्य १० दल पनि खारेज भएका छन् ।
पार्टी सन्चालनको आर्थिक स्रोत र खर्चको पारदर्शिता देखाउन नसकेकाले खारेज गरिएको आयोगका उपन्यायधिवक्ता वद्रीप्रसाद ओलीले जानकारी दिए । लोकतान्त्रिक शासन व्यवस्थामा सामान्यतया दलहरु खारेज हुँदैनन् ।

पार्टी नै खारेज भएपछि प्रजातान्त्रिक जनमुक्ति पार्टीले आयोगबाट पाएको चुनाव चिन्ह काइँयोको अस्तित्व पनि समाप्त भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीको महासचिव भएर महिला वालवालिक तथा समाज कल्याण मन्त्री बनेका खपाङ्गीले मन्त्रीबनेपछि प्रजातात्रिक जनमुक्ति पार्टी खोलेका थिए । यो पार्टीले संविधानसभाको निर्वाचन बहिस्कार गरेको थियो ।
कम्युनिष्ट पार्टीबाट राजनीतिक करिअर शुरु गरेका गोरेबहादुर खपाङ्गी सामाजिक आन्दोलनमा पनि चर्चित नाम हो । विद्यालयको प्राधानाध्यपक हुँदै क्याबिनेट मन्त्री समेत बनेका उनी अचेल खास सकि्रय देखिदैनन् । तथापि उनका विश्वासपात्र नन्दबहादुर घर्तिको फेसबुकमा भने खपाङ्गीले नयाँ पार्टी खोलेको वा खोल्न लागेको उल्लेख छ ।
