नयाँ संविधान जारी गर्ने मिति नजिकिदै गर्दा बसेको संवैधानिक समितिको बैठक बिना निष्कर्ष सकिएको छ । समितिको फागुन १९ गते सिँहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरुले सहमति जुटाउने प्रयास भइरहेकाले केही दिन थप समय मागेकाले बिनानिष्कर्ष सकिएको समितिका सभापति नीलाम्बर आचार्यले बताए ।
नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुले विगतमा भएका सहमति कायम गर्न र थप सहमति जुटाउनका लागि केही दिन थप समय लाग्ने अडान लिएपछि वैठक निश्कर्षमा पुग्न नसकेको हो । बैठकमा प्रमुख दलका नेताले शान्ति र संविधानलगायतका विवादित विषयमा सहमति जुटाउने प्रयासका लागि शीर्ष नेताको बैठक जारी रहेकाले अहिले नै विवादित विषयमा मत बाँडफाँड नगरिने भन्दै वैठक सकिएको हो ।
वैठकमा मिल्न बाँकी विषय पाँच प्रतिशत भन्दा कम भएपनि संविधान विरोधी नेताहरुले सहमति बन्न नदिएको भन्दै केही सभासदहरुले प्रश्न उठाएका थिए । साना दलका नेताहरुले भने ठूला दलका कारण संविधान लेखनको कार्यतालिका साँघुरिँदै गएको भन्दै गम्भीर बन्न आग्रह गरेका थिए ।
राज्यपुर्नसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली जस्ता केही विषयम मात्रै मिल्न बाँकी छ । प्रमुख दलका नेताहरुले चाहेको अवस्थामा १४ जेठ भित्र सजिलै संविधान बन्न सक्ने भएपनि उनीहरुले गम्भिरता देखाएका छैनन् ।
