प्रथम सहिद लखन थापा मगरको स्मृति दिवसमा फागुन २ गते प्रमुख अतिथि बन्ने बाचा गरेर पनि आयोजकलाई निरास तुल्याएका संस्कृति मन्त्री गोपाल किराती मगर दिवसमा भने भाषण गर्न गए । मगर सङ्घको ३० औँ स्थापना दिवसको अवसरमा फागुन १५ गते काठमाडौंमा आयोजित कार्यक्रममा किरातीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नका लागि उनीहरुलाई अधिकार सम्पन्न बनाउनु आवश्यक रहेको बताए ।
मन्त्री किरातीले नयाँ बन्ने संविधानमा उत्पीडित जातिको हक अधिकारलाई सुनिश्चित गरिने उल्लेख गरे । उनले मुलुकमा कुनै पनि जातिको बाहुल्यता नरहेकाले त्यसलाई सङ्घीयतामा विभाजन गर्दा उत्पीडित जातिको पहिचानको आधारमा राज्यको पुनःसंरचना गरिने धारणा राखे ।
नेपाल मगर सङ्घका अध्यक्ष महेन्द्र थापाले मगर जातिको भाषा संस्कृतिलाई संरक्षण गर्न आफ्नो सस्था लामो समयदेखि कि्रयाशील बताए । सोही अवसरमा उमेशबहादुर रानामगरद्धारा लिखित ‘मगर समाजको उत्पीडन र संविधानसभा’ नामक पुस्तक विमोचन गरिएको थियो ।
पुस्तकका लेखक रानामगरले ऐतिहासिक कालदेखि नै मगर जाति उत्पीडनमा परेकाले उनीहरुका अधिकार संरक्षण गर्न नीति निर्मातालाई सहयोग पुर् याउने उद्देश्यले आफ्नो जीवनको अनुभवलाई सङ्गालेर पुस्तक लेखेको बताए ।
काठमाडौं बाहिर पनि विभिन्न कार्यक्रम गरेर मगर दिवस मनाएको समाचार प्राप्त भएको छ ।
यसैवीच राष्ट्रिय जनमुक्ति पार्टीले देश विदेशमा रहेका मगरहरुलाई ३० औं मगर दिवसको अवसरमा शुभकामना व्यक्त गरेको छ ।
