सर्वोच्च अदालतको फैसलाबाट सूचना तथा सन्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ता भ्रष्टाचारी ठहर भएर जेल चलान भएपछि नयाँ बहस प्रारम्भ भएको छ । सत्तारुढ फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका गुप्तालाई मधेशी समुदायको नेता भएकै कारणले फसाइएको हो वा उनी वास्तवमै भ्रष्टाचारी हुन ? मधेशी जनअधिकार फोरम गणतान्त्रिकको निर्णयलाई आधार मान्ने हो भने मधेश आन्दोलन निस्तेज पार्न अदालतबाट पक्षपातपूर्ण फैसला आएको हो । गुप्ता स्वयम कै भनाईमा वैध आम्दानीको मापदण्ड आफूलाई जे लगाइयो त्यहि लगाउने हो भने एमाले अध्यक्ष झलनाथ खनाल अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायहरु पनि भ्रष्टाचारी ठहरिने छन् ।
सम्मानित अदालतबाट फैसला भईसकेको विषयमा अनावश्यक टिकाटिप्पणी हुनु निश्चय पनि राम्रो होइन । तर अदालतको फैसला कार्यान्वयनको विषयमा भने गुप्ता वा उनको पार्टीले भने जसरी पहाडी र मधेशीवीच विभेद भएको साँचो हो । प्रमाण खोज्न धेरै टाढा जानै पर्दैन ।
गुप्ता जुन क्याबिनेटमा वरिष्ठ मन्त्री थिए त्यहि क्याविनेटको नेतृत्व गरिरहेका प्रधानमन्त्री डा बाबुराम भट्टराईले सर्वोच्च अदालतले हत्यारा प्रमाणित गरेका सभासदलाई काखी च्यापेर हिँडेका छन् । उज्जनकुमार श्रेष्ठलाई मारेको अदालतबाट प्रमाणित भए पनि वालकृष्ण ढुँगेललाई सरकारले तलब सुविधा र सुरक्षा दिएर राखेको छ । माओवादीका ठेट्नाहरुले भने जसरी श्रेष्ठलाई राजनीतिक कारणबाट मारिएको होइन भन्ने कुरा ढुँगेलले सार्वजनिक रुपमै स्विकारिसकेका छन् । ढुँगेलबाट श्रेष्ठ मारिनुमा नितान्त पारिवारिक व्यक्तिगत कारण रहेको उनका आफन्तकोहरुको भनाईबाटै स्पष्ट छ ।
गुप्ता वा जोकोहीले राज्यको ढुकुटी दुरुपयोग गरेर सम्पत्ति कमाएको रहेछ भने कानुन बमोजिम हदैसम्मको कारवाही हुनुपर्नेमा कसैको विमति छैन । तर केही लाख रुपियाँ भ्रष्टचार गर्नु भन्दा मान्छे मार्नु ठूलो अपराध हो भन्ने कुरा कानुनका ठेली वा राजनीतिक दर्शन नबुझ्नले समेत सजिलै भन्न सक्दछ । ९ फागुनमा अदालतबाट दोषी ठहर भएका गुप्ताको तीन दिनपछि अर्थात फागुन ११ गते सभासद पद गईसकेको छ भने ढुँगेल त्यहि अदालतबाट हत्यारा प्रमाणित भएको एक वर्ष पुग्न लाग्दा पनि उनको पद खोएिको छैन । बरु राज्यले संरक्षण दिएर राखेको छ ।
अदालत फरार घोषित गरेका ढुँगेल गत महिनामा प्रहरीसँगै बसेका थिए ।
गुप्ता र ढुँगेलको फैसला गर्ने अदालत पनि एउटै हो । उसो भए एउटै अदालतको फैसला कार्यान्वयनमा कार्यपालिकाले किन भेदभाव गर्यो ?
अदालतबाट हत्यारा प्रमाणित भएका वालकृष्ण ढुँगेललाई सरकारले तलब भक्ता र सुरक्षा दिनुको पछाडि यि कारण छैन भन्ने आधार के हो
ढुँगेल वाहुन भएकाले ?
पहाडी भएकाले ?
पुरुष भएकाले ?
माओवादी भएकाले ?
उनले जनजाति मारेकाले ?
कार्यपालिकाको नेतृत्व वाहुनले गरेकाले ?
