पटक-पटक संविधानसभाको भ्याद थप्दा पनि संविधान जारी नगरेको विरोधमा वकिलहरुको संस्था नॆपाल बार एसोसिएसनलॆ प्रतिकात्मक नारासहित विरोध कार्यक्रम गर्ने भएको छ । फागुन १२ गते उपत्यका भित्रका कानुन व्यवसायीले लगाएको कोट फुकाल्ने कार्यक्रम तय भएको बारका महासचिव विजय मिश्रले जानकारी दिएका छन् ।
मिश्रका अनुसार ‘तलव भत्ता खाउ, संविधान नबनाउ’, ‘बैठक बसाउ, निष्कर्ष ननिकाल, ‘निर्वाचन किन चाहियो ? संविधानसभाको म्याद थप्न पाइयो’ जस्ता नारा लगाइने छ । निर्धारित समयमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले यसअघि माघ २० गते संविधानसभाको कार्यालय अघि गएर उनीहरुले धर्ना दिएका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान नबनाएको चौतर्फी विरोध भएपनि संविधान बनाउने कसम खाएर गएका सभासदहरु कानमा तेल हालेर बसेका छन् । खास गरी प्रमुख दलका प्रमुख नेताहरुका कारण संविधान निर्माणमा पटक पटक अवरोध आएको छ । फागुन ११ गते पनि संविधानसभामा राख्ने विवादित विषय मिलाउने कार्यतालिका १० दिन पर सारिएको छ ।
