नवलपरासीको झ्यालटुङ्ग डांडामा स्वच्छिक अवकाशमा निस्केका माओवादी लडाकुका कम्पनी सहकमाण्डर विष्णु रोकायले आफूले पाउने रकमको बीस प्रतिशत रकम डिभिजनमा बुझाउन नमाने पछि उनीमाथि आइतबार दिउंसो कुटपिट भएको छ ।
रोकायले आफूले पार्टीको निर्णय वेगर कुनै पनि रकम नदिने भन्दै त्यसको विरोध गरेपछि उनीमाथि हातपात भएको हो । उनी अहिले आफ्नो सुरक्षा नभएको भन्दै आफ्नो साथीको घर लुकेर बसेको टेलिफोनमार्फत हाम्रो राज्यसत्ता सहकर्मी देब पचभैयाले बताए । उनलाई चौथो डिभिजनका सेनाहरुले व्यापक रुपमा खोजीगरिरहेकाका छन । कुटपिटबाट उनी रक्ताम्य भएको उनका सहयोद्धाहरुले बताए । पार्टीमा इन्द्र उपनामले चिनिने रोकायले आफूलाई वि्रगेड सहकमाण्डर रणदीपले हातपात गरेको बताए । डिभिजन कमाण्डर लगायतले विवाद विषय छलफलमा लगेर टुंग्याउने भन्दाभन्दै रणदीपले आफूमाथि एक्कासी हातपात गरेको उनले बताए । कालिकोटको धौलागोह घर भएका रोकायले स्वच्छिक अवकाश रोजेवापत पांच लाख रकम पाउनेमा पहिलो किस्तावापत दुई लाख ५० हजारको चेक पाएका थिए । उनले सोमबार पत्रकारसम्मेलन गर्ने समेत जनाएका छन् ।
२० देखि ५० प्रतिशतसम्म रकम कट्टा
स्वच्छिक अवकाशको रकम लिएर घर फर्कदै गरेको माओवादी लडाकुहरुको रकम तह हेरी माओवादी सेनाको मुख्यालयले रकम काट्ने गरेको रहस्य बाहिर आएको छ ।
रकम काट्ने कि नकाट्ने भन्ने विषयमा लडाकुहरु भित्रै विवाद उत्पन्न भएपछि यो रहस्य बाहिर आएको हो । डिभिजनले अनमिनले प्रमाणिकरण गर्दा वहिर्गमनमा परेका पूर्व लडाकुहरु र पार्टी शान्ति प्रकि्रयामा आएपछि जनमुक्ति सेना छाडेर पार्टीको युवा जनवर्गीय संगठन वाईसिएलमा आएका पूर्व लडाकुहरुलाई दिनका लागि सो रकम काटेको स्रोतले बतायो । स्रोतका अनुसार अनिमिनले प्रमाणिकरण गरेपछि कम्तिमा १८ महिनासम्म शिविरमा नबसेकाको २० प्रतिशत ३० महिनासम्म शिविरमा नबसेकाको ३० प्रतिशत र ३० महिनाभन्दा बढी शिविरमा नबसेका लडाकुहरुको ४० प्रतिशत रकम काट्ने गरिरहेको छ । स्रोतका अनुसार यो रकम लडाकुले पाएको पहिलो किस्ताबाट काटिने गरेको छ भने दोस्रो किस्ताको रकमबाट भने काटिने छैन । त्यसैगरी माओवादी १० बर्षे जनयुद्धमा सहभागी नभएको तर अनिमिनले प्रमाणिकरण गर्दा आएको लडाकुहरुको मध्येबाट प्लाटुन कमाण्डर र कम्पनी सहकमाण्डर सम्मको लागि २० प्रतिशत रकम काटिएको छ । स्रोतका अनुसार अनिमिनले प्रमाणिकरण गरेपछि शिविरमा नबसेर बाहिर वैदेशिक रोजगारीमा गएका तथा स्वदेशमा कुनै पेशा गरेको वा जागिर खाएकाहरुको पचास प्रतिशतसम्म काटिने भएको हो ।
देव पचभैया, नवलपरासी
