थारु समुदायले मनाउँदै आएको माघी पर्वको सम्पूर्ण तयारी पुरा भएको छ । थारु कल्याणकारीसभाद्वारा पुस २७ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार थारु समुदायको महान पर्व माघी यही माघ १ गते राष्ट्रिय पर्वको रुपमा मनाउने भएको छ ।
सरकारले माघ १ गतेलाई मगर र थारु समुदायको पर्व भनेर विदा दिँदै आएको छ । यद्यपि मगर संघले भने टालटुले कार्यक्रम गर्दै आएको छ । माघी पर्व भूमिपुत्र थारु जातिको नयाँ वर्ष हो । नयाँ कामको सुरुवात गर्ने हुनाले यस चाडलाई थारुहरुले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् ।उनीहरुले यो महिनाभर नयाँ नीति नियम बनाउने कार्यान्वयन गर्ने नयाँ प्रतिबद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने गर्छन् ।
माघे सङ्क्रान्तिका दिन नदी पोखरी तथा जलाशयमा गएर नुहाउँदा वर्षभरको गलत काम पखालिन्छ भन्ने मान्यता थारुहरुमा रहेको छ । पुसको अन्तिम दिनबाट सुरु भई एक सातासम्म मनाइने माघी पर्वमा थारुहरुले ढिक्री सिचरी मुरही तिलको लड्डु खरिया अण्डीभात सखरखण्ड तरुल माछा घोघी गङ्गटा मासु जाँड र त्यसको झोलको परिकार खाने गर्दछन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् थारु कल्याणकारीसभाका महामन्त्री फूलमती चौधरीले पूर्व झापादेखि पश्चिमको काचनपुरसम्मको २३ जिल्लामा थारुहरुको बसोबास रहेको र यस जातिको आफ्नै भाषा भेषभूषा तथा रहनसहन देशका विविध पहिचानमा एक महत्वपूर्ण पहिचान भएको बताए ।
