धन्यवाद ! प्रचण्ड उर्फ पुष्पकमल उर्फ छविलाल दाहाल

Read Time:8 Minute, 16 Second

पुष्पकमल दाहाल आफैले एउटा प्रस्ताव अघि सारेपछि यथास्थितिवादी भनिने काँग्रेसका रामचन्द्र पौडेल, एमालेका माधवकुमार नेपाल मात्रै होइन हिजो राजाको जुठो पुरो खाएर हुर्केका डा. प्रकाशचन्द्र लोहनीले समेत जिब्रो टोके  । वैठकको अध्यक्षता समेत गरेका दाहालको निर्देशनात्मक प्रस्ताव थियो, ‘मुख्य जातिलाई अन्यमा राखियो भन्ने ठूलो गुनासो र दवाव आएको छ । अन्य जातिको पहिचानबारे आन्दोलन शुरु भएको छ र व्यक्तिगत रुपमा पनि मलाई धेरै ज्ञापनपत्र आएका छन् ।’ दाहालले अगाडि भने, ‘सबै भन्दा बढी संख्यामा रहेका वाहुन क्षेत्री र ठकुरीहरुको जातीय अधिकार सुनिश्चित नगरी संविधान बन्न दिनु हुँदैन । दलित र जनजातिलाई अधिकार दिने नाममा वाहुन र क्षेत्रीको अधिकार गुम्ने अवस्था आउन दिन सकिदैन । अन्तरिम संविधानमा वाहुन क्षेत्रीलाई अन्य जातिमा राखेर उनीहरुमाथि ठूलो अन्याय भएको साँचो हो ।’

दुखीराम चौधरी

‘चुच्चे ढुँगो उही टुँगो’ भन्ने नेपाली उखानलाई सार्थक तुल्याउँदै छविलालबाट पुष्पकमल दाहाल हुँदै प्रचण्ड बनेका एकिकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डबाट पुष्पकमल हुँदै छविलाल दाहाल बनेका छन् । अर्थात कथित कम्युनिष्ट बनेर लिएको प्रचण्ड नामलाई तिरस्कृति गरेर उनी छविलाल दाहालमा फर्किएका छन् । प्रसंग २०६८ पुस १७ गतेको हो । साँझको चार बज्दा नबज्दै संविधानसभामा देखिएका विवादित विषय मिलाउन गठित उपसमितिको वैठकका लागि सिँहदरबारस्थित राज्य व्यवस्था समितिको एक तले काठे भवनमा आमन्त्रित सबै जम्मा भएका थिए ।

उपसमितिका संयोजक पुष्पकमल दाहाल आफैले एउटा प्रस्ताव अघि सारेपछि यथास्थितिवादी भनिने काँग्रेसका रामचन्द्र पौडेल एमालेका माधवकुमार नेपाल मात्रै होइन हिजो राजाको जुठो पुरो खाएर हुर्केका डा प्रकाशचन्द्र लोहनीले समेत जिब्रो टोके  । वैठकको अध्यक्षता समेत गरेका दाहालको निर्देशनात्मक प्रस्ताव थियो, ‘मुख्य जातिलाई अन्यमा राखियो भन्ने ठूलो गुनासो र दवाव आएको छ । अन्य जातिको पहिचानबारे आन्दोलन शुरु भएको छ र व्यक्तिगत रुपमा पनि मलाई धेरै ज्ञापनपत्र आएका छन् ।’ दाहालले अगाडि भने, ‘सबै भन्दा बढी संख्यामा रहेका वाहुन क्षेत्री र ठकुरीहरुको जातीय अधिकार सुनिश्चित नगरी संविधान बन्न दिनु हुँदैन । दलित र जनजातिलाई अधिकार दिने नाममा वाहुन र क्षेत्रीको अधिकार गुम्ने अवस्था आउन दिन सकिदैन । अन्तरिम संविधानमा वाहुन क्षेत्रीलाई अन्य जातिमा राखेर उनीहरुमाथि ठूलो अन्याय भएको साँचो हो ।’

पुष्पकमल दाहाल वा छविलाल दाहालको हैसियतमा उनले वाहुन र क्षेत्रीको जातीय अधिकार मात्रै होइन दाहाल थर विशेषकै लागि थरीय अधिकारको कुरा गरे पनि यो स्तम्भकारको टाउको दुखाईको विषय हुँदै होइन । अहिलेका एकिकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डको साट्टो नेकपा वाहुन पार्टी वा नेकपा दाहाल पार्टीको अध्यक्ष बने पनि तिनको विषयमा चासो राख्ने कुनै दरकार छैन ।

तथापि १५ हजार नेपालीको निर्मम हत्यापछि छविलाल दाहालबाट एनेकपा माओवादी अध्यक्ष प्रचण्ड बनेका व्यक्तिको यस्तो प्रस्तावमा चासो राख्नु प्रत्येक नेपालीको अधिकार हो । उनले आफू दाहालबाट प्रचण्ड बन्ने क्रममा कति नेपाली शारीरिक अपाङ्ग भए विस्थापित र वेपत्ता पारिए भन्ने हिसाब दाहाल आफैसँग  पनि छैन । दाहालका साखुल्ले वर्षमान पुनको भनाईलाई आधार मान्ने हो भने १५ हजार मध्ये ७५०० भन्दा बढी मगर मारिएका छन् । हजारौं नेपालीको रगत बगीसकेपछि अर्बौंको जनधन क्षति भएपछि प्रचण्ड किन छविलाल दाहाल बने भन्ने कुरा यो स्तम्भकार मात्रै होइन सारा नेपालीको चासो र सरोकारको विषय पक्कै हो ।

छविलाल दाहालले संयुक्त जनमोर्चालाई मुलुकको सबैभन्दा ठूलो पार्टी बनाउनकै लागि जातीय अधिकारको नौटंकी गरेको पछिल्लो प्रमाण हो वाहुन र क्षेत्रीको जातीय अधिकार प्रतिको चिन्ता । आफूहरुलाई माथ दिएकोमा रामचन्द्र पौडेल माधवकुमार नेपाल र डा प्रकाशचन्द्र लोहनी त चकित परे नै जीवित भएको भए माक्स्र एँगेल्स लेलिन वा माओ त्सेतुङ्ग पनि बहुलाउने थिए । वर्गीय समस्यालाई प्रधान भनेर कम्युनिज्मको बखान गर्ने साथीहरुलाई भने छविलाल दाहालको जातीय चरित्र बुझ्न तीन पुस्ता पनि प्रर्याप्त हुँदैन । किनभने छविलाल दाहालले आफू प्रचण्ड नभई शुद्ध दाहाल मात्रै भएको प्रमाण पहिलो पटक पेश गरेका होइनन् । २०६३ पुसमा संघियता नलेखेर अन्तरिम संविधानमा सबै भन्दा पहिला हस्ताक्षर गरेर ‘प्रचण्ड होइन म दाहाल हुँ’ भन्दा पनि यिनका अन्धभक्तहरुको घैँटोमा घाम लागेन । धन्य जनजाति र मधेशी आन्दोलनपछि बाध्य भएर अन्तरिम संविधानमा संघीयता राखियो ।

 

प्रचण्ड भन्ने नामप्रति घृणा जागेर छविलाल दाहालमा फर्के पनि रुकूम र रोल्पाको मगर बस्तीलाई मसानघाट किन बनायो भनेर सोध्ने कसले ? समावेशिता र आरक्षणको कुरा गर्दा ‘साम्प्रदायिक कुरा नगर्नुस् कमरेड’ भन्थ्यो नि दाहाल भनेर भनी दिने कसले ? थारु, लिम्बु, तामाङ्ग, मगर, गुरुङ्ग, राई र कथित दलितको अधिकार खोसेर वाहुन र क्षेत्रीलाई पोस्ने भए मेरा सन्तान फिर्ता देऊ भनेर माग्ने कसले ? राज्यसत्तामा ९९ प्रतिशत कब्जा गरेर बसेका क्षेत्री र वाहुनको गासका लागि दलितलाई उठीबास नबनाउ भनी दिने कसले ? छुवाछुतको विरोधमा दलित संगठित भएको देखेर छुवाछुत गर्न पाउँ भनेर वाहुनहरु संगठित हुनु ‘क्रान्ति होइन’, ‘अग्रगमन होइन’ भनेर बुझाउने कसले ?

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %